पहिले गाई बाख्रा चराउन र घाँस दाउरा गर्न जाने स्थानीयको मात्र भेटघाट हुने गरेको काफलडाँडामा हिजोआज दैनिक एक हजारभन्दा बढीको सङख्याका मानिसको आवतजावत भइरहेको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं २ काफलडाँडास्थित पर्यटकीयस्थल तीनधारा झरना अवलोकन गर्न जाने आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । यससँगै यहाँका स्थानीयमा खुशी छाएको पनि उनीहरु बताउँछन् । पछिल्लो समय सामाजिक सञ्जालमार्फत झरनाको बारेमा प्रचार भएसँगै अहिले सो क्षेत्रमा काभ्रेपलाञ्चोक जिल्लालगायत छिमेकी विभिन्न जिल्लाबाट समेत झरना अवलोकन गर्न जानेहरु बढेका छन् ।
बनेपा नगरपालिका वडा नं १२ का मुकुन्द शर्माले सामाजिक सञ्चालमार्फत थाहा पाएर झरना हेर्न यहाँ आएको बताउनुभयो । “जति थाहा पाएको थिएँ, यहाँ आइपुग्दा भने छुट्टै आनन्दाको अनुभूति हुँदो रहेछ”, उहाँले भन्नुभयो । बाटो असहज भए पनि झरना पुगेपछि त्यहाँको आकर्षक प्राकृतिक सौन्दर्यले गर्दा सबै दुःख कष्ट भुल्ने उहाँको अनुभव छ । झरना पुग्ने बाटोको सुधार गर्दै पर्यटन पूर्वाधारको कामलाई अझ व्यवस्थित गर्न सकेको खण्डमा यस झरना नेपालको एक प्रमुख आकर्षक गन्तव्य बन्ने उहाँको भनाई छ । स्थानीयवासीको पहल र स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोगमा यो ठाउँको संरक्षण र विकासका लागि थप लाग्नुपर्ने उहाँले सुझाउनुभयो । ललितपुर पाटनढोकाका प्रेम सुनुवार पनि सामाजिक सञ्जाल फेसबुक र टिकटकमा राखेको झरनाको दृश्य र तस्वीर देखेपछि घुम्न आएको बताउनुभयो ।
“झरना जति मनमोहक छ, त्यति नै दृश्यावलोकन गर्ने ठाउँ, डाँडाहरुमा हिँड्डुल गर्न जोखिम अवस्था पाएको छु, त्यस्ता अप्ठ्यारा स्थानमा बार लगाएर जान मिल्ने र नमिल्ने ठाउँलाई व्यवस्थापन गर्न आवश्यक देखेँ”, उहाँले भन्नुभयो । काठमाडौँ महाराजगञ्जका विमला विष्टले प्राकृतिकस्थल भएका कारण यसलाई बढी सिँगार गर्नुभन्दा यस्तै अवस्थालाई संरक्षण गरेर राख्न सकेमा मात्र पनि यस स्थान र यहाँको झरना सुन्दर हुने बताउनुभयो । आउँदा बाटोको कारण अप्ठ्यारो भए पनि झरना पुगेपछि निकै आनन्द मिलेको उहाँको अनुभव छ । यहाँ आउनेहरुले यहाँ रहेको कुण्डलाई अलि फराकिलो बनाएर बार लगाएको खण्डमा थप आकर्षक हुने र यसले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने सुझाव दिएका छन् ।
यो पनि हेर्नुहोस:
