• Tuesday 28th of July 2026

महामारीकोविरूद्ध ‘एकजुट’ हुनुपर्नेमा भेनेजुएला, क्युवाद्वारा जोड


  • गोकर्णेश्वर अनलाइन

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार संयुक्त राष्ट्रसंघको महासभाको सम्बोधनमा विश्व कोरोनाभाइरस महामारीकोविरूद्ध ‘एकजुट’ हुनुपर्नेमा जोड दिनुभयो । संयुक्त राष्ट्रसंघका अन्वेषकहरूले मानवतासम्बन्धी अपराधको अभियोग लगाएका मदुरोले भिडियोमा रेकर्डमार्फत् पठाइएको सम्वोधनमा ‘आधिपत्य’ र ‘साम्राज्यवादी विचार’ विरुद्ध लड्न पनि उक्त अवसरमा आग्रह गर्नुभयो । उहाँले विश्वको स्वास्थ्य संगठनमा हस्तक्षेप अस्वीकार्य भन्दै कुनै देशको स्पष्ट नाम नदिई भन्नुभयो, “भेनेजुएलाले बहुपक्षीय विश्वलाई समर्थन गर्छ र अन्तर्राष्ट्रिय कानून लागू गर्ने र विश्वको जनतालाई कसरी जोगाउने व्यवस्था गर्ने भन्ने नयाँ राष्ट्रसंघीय प्रणालीको समर्थन गर्छ ।”

“यो अपमान गर्ने, डब्ल्यूएचओलाई धम्की दिने समय होइन, अब यसको पक्षमा एकजुट हुने समय आएको छ,“ उहाँले भन्नुभयो । “विश्वले ७५ वर्ष अघि फासिवादलाई पराजित गरेको थियो । साम्राज्यवादी विचारको पक्षमा वर्चस्व खोज्नेहरुविरूद्ध पनि विश्वले जित्नेछ, र यो नव–फासीवादलाई हराउन सक्षम हुनेछ,” मदुरोले सम्बोधनमा भन्नुभयो । भेनेजुयलाको निर्वाचनमा विपक्षी समूहलाई सहभागिता नगराएको र निर्वाचन आफ्नो पक्षमा पार्न व्यापक धाँधली गरेको दावी गर्दै मदुरोलाई राष्ट्रपतिका रूपमा अमेरिका लगायत विश्वका करिब ५० मुलुकहरूले वैधानिकता दिएका छैनन् । मदुरो बुधवार संयुक्त राष्ट्रसंघको वार्षिक साधारण सभामा अर्को सम्वोधन गर्नुहुनेछ । मदुरोले सन् २०१८ पछि महासभामा भौतिक रूपमा उपस्थित हुनुभएको थिएन ।

क्युवाका विदेश मन्त्री ब्रुनो रोड्रिग्ज पर्रिलाले पनि आफ्नो सम्वोधनमा संयुक्त राष्ट्रसंघको ७५ औं सभामा बहुपक्षीयता र अन्तर्राष्ट्रिय कानूनलाई सबैभन्दा ठूलो विश्वव्यापी शक्तिले खतरामा पारेको बताउनुभयो । “संयुक्त राज्य अमेरिकाको गैरजिम्मेवारपूर्ण व्यवहार अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि सबैभन्दा ठूलो खतरा हो,” उहाँले भन्नुभयो । “यस्तो देखिन्छ कि (अमेरिका) यस ग्रह र यसका बासिन्दाहरूसँग युद्धमा छ,” रोड्रिग्ज पर्रिलाले क्युवामा वाशिंगटनले लगाएको “आर्थिक, व्यावसायिक र वित्तीय नाकाबन्दी” को विरोध गर्नुभयो ।

यो पनि हेर्नुहोस:

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology