• Monday 3rd of August 2026

धुलौटे बाटो कालोपत्रे भएपछि…


  • गोकर्णेश्वर अनलाइन

गाउँका धुलौटे बाटाहरु धमाधम कालोपत्रे सडक बन्न थालेपछि गाउँमा खुशी छाएको छ । विकासनिर्माणका काममा राज्यका तीन वटै तहका सरकार सक्रिय हुँदा यति बेला ग्रामीण क्षेत्रमा रहेका धुलौटे बाटा मापदण्डानुसारका कालोपत्रे सडक बन्न थालेका छन् । निर्वाचनका समयमा ग्रामीण क्षेत्रमा रहेका धुलौटे बाटालाई कालोपत्रे सडक निर्माण गरिने प्रतिबद्धता पूरा गर्ने कार्यमा जनप्रतिनिधि सक्रिय रहेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताउनुभयो । धुले सडकलाई आवश्यकतानुसार कतै उच्चस्तरको ग्राभेल गरिएको छ भने कतै ब्लक लगाउने काम भइरहेको छ । यातायातका साधन धेरै चल्ने नगर क्षेत्रका व्यस्त बाटालाई प्राथमिकताका साथ कालोपत्रेको काम गरी निरन्तरता दिइएको छ । स्थानीय तहको निर्वाचनपछि हालसम्मको तीन वर्षका अवधिमा नगरपालिका क्षेत्रमा २५ किलोमिटर बाटो कालोपत्रे भइसकेको नगर प्रमुख पोखरेलले बताउनुभयो ।

यस्तै जनप्रतिनिधि आउनुअघि हरेक गाउँटोलमा वर्षात्का समयमा हिँड्नका अत्यन्तै समस्या थियो । बिजुलीबत्ती सबैतिर पुगेको थिएन । झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले अहिले गाउँपालिका सात वटै वडाभित्र करीब शतप्रतिशत बिजुलीबत्ती पुगेको बताउनुभयो । उहाँका अनुसार सबै वडाका बाटा ग्राभेल भएका छन् । ग्राभेल भइसकेका गाउँपालिका क्षेत्रका सबै बाटो कालोपत्रे बनाउने कार्यको थालनी भइसकेको गाउँपालिका अध्यक्ष शाहले जानकारी दिनुभयो । स्थानीय कामाटोली क्षेत्रबाट कालोपत्रेको काम थालनी भएको बताइएको छ ।

झापा गाउँपालिका बिरिङ, सानो माई र कनकाई नदीले घेरिएको ठाउँ भएकाले वर्षामा केही वडामा आवतजावत गर्नका लागि सम्भव नै थिएन तर स्थानीय तहको जिम्मेवारी जनप्रतिनिधिले लिएपछिको तीन वर्षमा आवश्यकतानुसार खोला, नदीमा पुल हालिएको छ । पुल र बाटो ग्राभेल भइसकेपछि जनताले स्थानीय सरकारको महत्व बिस्तारै बुझ्न थालेको गाउँपालिका अध्यक्ष शाहको भनाइ छ । सडक पूर्वाधारको तीव्र विकास, भौतिक सुधारका थुप्रै योजना, स्वास्थ्य क्षेत्रमा सुधार, जनताको गाँस, बास रजीविकाका सवालमा आफूहरुले शुरुआत गरेका दर्जनौँ कार्यक्रमले गाउँको मुहार नै फेरिने क्रममा रहेको गाउँपालिका अध्यक्ष शाहले जिकिर गर्नुभयो ।

यो पनि हेर्नुहोस:

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology