• Monday 3rd of August 2026

मालपोतमा कुपन सिस्टम लागू


  • गोकर्णेश्वर अनलाइन

मालपोत कार्यालय टीकापुरमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन सेवाग्राहीका लागि कुपन सिस्टम लागू गर्ने भएको छ । कोरोना नियन्त्रणका लागि यसअघि अपनाइएका सावधानीले सेवाग्राहीको भीड कम नभएपछि कार्यालयले कुपन सिस्टम लागू गर्ने भएको हो । मालपोत कार्यालयले दैनिक ३५ देखि ४० जना सेवाग्राहीलाई मात्र सेवा दिने गरी कुपन सिस्टम लागू गर्न लागिएको मालपोत कार्यालय टीकापुरका प्रमुख दलबहादुर चन्दले जानकारी दिनुभयो । “यसअघि एक दिनमा एक स्थानीय तहका सेवाग्राहीको काम गर्दै आएका थियौँ”, कार्यालय प्रमुख चन्दले भन्नुभयो, “त्यो सम्भव देखिएन ।

सेवाग्राहीको भीड थेग्न सक्ने सामथ्र्य नहुँदा कुपन सिस्टम शुरु गर्नु परेको हो ।” कुपन सिस्टम शुरु गरेपछि सेवाग्राहीले पहिलेको जस्तो हप्ता दिनसम्म सेवा लिनका लागि पर्खनु नपर्ने तर दिनमा ३५ देखि ४० वटा कुपनमात्र वितरण गरिने भएको हुँदा कार्यालयमा सामाजिक दूरी र स्वास्थ्य मापदण्ड कार्यान्वयन हुने मालपोत कार्यालयको विश्वास छ । गत भदौ ४ गतेदेखि कैलालीमा भएको निषेधाज्ञा असोज १ गते खुलेसँगै मालपोत कार्यालयले हप्ताको ६ दिनमा एक स्थानीय तह रहने गरी समय निर्धारण गरेको थियो । आइतबार टीकापुर नगरपालिका, सोमबार लम्कीचुहा नगरपालिका, मङ्गलबार जानकी गाउँपालिका, बुधबार बर्दगोरिया गाउँपालिका, बिहीबार जोशीपुर गाउँपालिका र शुक्रबार महुन्याल गाउँपालिका र भजनी नगरपालिकाका सेवाग्राहीलाई सेवा दिने गरी सूचना जारी गरेको थियो ।

आइतबारदेखि लागू हुने गरी जारी भएको मालपोत कार्यालयको सूचना तीन दिन पनि टिकेन । “हामीले एक हप्ताका लागि यो सूचना जारी गरेको तर यसले समस्या समाधानभन्दा झनै बल्झायो”, चन्दले भन्नुभयो, “तत्काल उक्त सूचनालाई परिमार्जन गरेका छौँ । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएरमात्र कार्यालय प्रवेश गरिदिन सेवाग्राहीलाई आग्रहसमेत गर्दछु ।” पहिलेको सूचनाको चौतर्फी विरोध र आलोचना हुन थालेपछि मालपोत कार्यालयले नयाँ शैली अपनाएको हो । कुपन बिहान १० देखि साढे १२ बजेसम्म मात्र वितरण गरिने भन्दै कार्यालय प्रमुख चन्दले उक्त कुपन दोस्रो कार्यान्वयन नहुने जानकारी दिनुभएको छ ।

“कोरोनाका कारण सबैभन्दा जोखिमयुक्त क्षेत्र मालपोत पनि हो । देशैभरिका मालपोत कार्यालयहरुले आ–आफ्नो योजनाअनुसार स्वास्थ्य मापदण्ड अपनाई काम गर्दै आएका छन्”, कार्यालय प्रमुख चन्दले भन्नुभयो, “नेपाल सरकारको स्वास्थ्य मापदण्ड अपनाउन पनि आवश्यक छ भने भीडभाड बढी हुने भएका कारण कर्मचारीहरु जोखिममा छन् ।” उहाँले कुपन लिनका लागि सेवाग्राही स्वयम् लिखित फाइल वा निवेदन ल्याएर आउनुपर्ने भन्दै भनसुन र फोन सम्पर्कबाट कुपन रोक्ने काम नहुने बताउनुभयो । १३ वटा स्थानीय तह रहेको कैलाली जिल्लामा सातवटा स्थानीय तहका सेवाग्राहीले मालपोत कार्यालय टीकापुरबाट सेवा लिँदै आएका छन् । त्यसमा पनि टीकापुर नगरपालिका र लम्कीचुहा नगरपालिकाका सेवाग्राही भने अत्यधिक रहेको मालपोत कार्यालय प्रमुख चन्द बताउनुहुन्छ ।

यो पनि हेर्नुहोस:

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology