• Monday 3rd of August 2026

‘दुई वर्षभित्र वृद्धभत्ता पाँच हजार’


  • गोकर्णेश्वर अनलाइन

नेपाल कम्युनिष्ट पार्टी

नेकपा कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले दुई वर्षभित्र बृद्धभत्ता रु पाँच हजार पुग्ने बताउनुभएको छ । पोखरा महानगरपालिका वडा नं १७ सितापाईलास्थित पोखरा बृद्धाश्रमको २४ औं वार्षिक साधारणसभा तथा विशेष अधिवेशनको बुधबार यहाँ उद्घाटन गर्दै उहाँले सरकारले जेष्ठ नागरिकलाई सार्वजनिक यातायात सुविधासहित निःशुल्क स्वास्थ्य उपचारको नीति लिएको बताउनुभयो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण मुलुकमा परेको अप्ठेरो परिस्थितीका कारण यस वर्षमा बृद्धभत्तामा केही बृद्धि गरे पनि लक्ष्यमा पुग्न नसकेको उहाँको भनाइ छ । जेष्ठ नागरिकले प्राप्त गर्ने सेवा सुविधामा वर्तमान सरकारले कुनै किसिमको कन्जुस्याई नगर्नेमा बताउँदै थापाले सामाजिक सुरक्षाका हरेक विषयलाई उच्च प्राथमिकताका साथ अघि बढाएको धारणा राख्नुभयो ।

तीनै तहका सरकारले सामाजिक न्यायसहित विकास निर्माणलाई अघि बढाएको बताउँदै थापाले त्यसको प्रतिफल देखिन समय लाग्ने बताउनुभयो । वृद्धाश्रमका कार्यवाहक अध्यक्ष कुशुम केशव पराजुलीले आश्रम सञ्चालनको क्रममा विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमणले प्रभावित बनाएको बताउँदै यस विषम परिस्थितीमा पनि सहयोगी दाताको निरन्तर सहयोग प्राप्त भएको जानकारी दिनुभयो । आगामी दिनमा आश्रमको सञ्चालनका लागि दीर्घकालीन सोचका साथ अघि बढिएको उल्लेख गर्दै उहाँले तीनै तहका सरकारबाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो । पोखरा महानर–१७ का वडाअध्यक्ष तिर्थराज अधिकारीले भगवान सरहका आमा बाबुलाई घरमै राखेर माया ममता प्रदान गर्नुपर्नेमा जोड दिंँदै समाजका विपन्न एवम् असहाय जेष्ठ नागरिकका लागि बृद्धाश्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

सेतीनदी माथिको प्राकृतिक पुल, सदा शिव हरिहर, सिताको पाईला, अकला मन्दिरलगायत प्राकृतिक तथा धार्मिक महत्व बोकेको यस स्थाललाई पर्यटकीय स्थलकोरुपमा विकास गरिनु पर्नेमा उहाँको जोड थियो । उक्त अवसरमा पोखरा–१६ अर्मलाका फरक क्षमता भएका कृष्णप्रसाद भट्टराईले बृद्धाश्रमको निरन्तरताका लागि सञ्चालन गरिएको अक्षयकोषमा जम्मा हुने गरी रु।२५ हजार प्रदान गर्नुभयो । कोषमा हालसम्म ६० लाख बढी रकम सङ्कलन भएको छ भने रु पाँच करोड पु¥याउने संस्थाले लक्ष्य लिएको छ । विभिन्न जिल्लाका ५५ जना बृद्धवृद्धा तथा सेवक सेवीका कार्यतरत रहेको वृद्धाश्रम सञ्चालनका लागि मासिक रु सात लाख ५० हजार खर्च लाग्ने गरेको संस्थाका सचिव केशव लम्सालले जानकारी दिनुभयो । कार्यक्रममा कार्यवाहक कोषाध्यक्ष मनुमाया खत्रीले एक करोड ४४ लाख बराबरको वार्षिक आयव्यय तथा सहसचिव दीपक आचार्यले आश्रमको भावि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

यो पनि हेर्नुहोस:

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology