• Monday 3rd of August 2026

पौवादुङमा विद्यत् बिस्तार प्रक्रिया शुरु


  • गोकर्णेश्वर अनलाइन

पौवादुङमा गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा विद्यत् बिस्तार गर्न प्रक्रिया अगाडि बढेको छ । उज्यालो गाउँपालिका बनाउने लक्ष्यका साथ विद्युत् बिस्तार गर्न बोलपत्र आह्वान गरिएको हो । वडा नं १ श्यामशीलादेखि वडा नं ६ ठूलोदुम्मासम्म विद्युत् वितरण गर्नका लागि बोलपत्र प्रक्रिया अगाडि बढिसकेको सो गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षभित्र विद्युत् विस्तार गरिसक्ने लक्ष्यका साथ काम शुरु भएको गाउँपालिकाका अध्यक्ष किरण राईले बताउनुभयो । “उज्यालो गाउँपालिका बनाउने हाम्रो लक्ष्यलाई पूरा गर्न विद्युत् विस्तारको लागि बोलपत्र आह्वान भएको छ”, उहाँले भन्नुभयो, “कामको दौडानमा कुनै चुनौती नआएमा चालु आर्थिक वर्षभित्रमा विद्युत् विस्तारको काम सम्पन्न हुन्छ ।” गाउँपालिकाले सबै घरमा उज्यालो बनाउनका लागि सरोकारवाला पक्षसँग समन्वय गरेर कामको थालनी गर्न लागेको अध्यक्ष राईको भनाइ छ । यसले जनताको विकासको चाहानालाई पूरा गर्न धेरै मद्दत पुग्ने विश्वास उहाँको छ ।

“हाम्रो स्थानीय तहमा आएको बजेटले सबै ठाउँमा विस्तार गर्न सम्भव थिएन । त्यसैले हामीले सरोकारवाला निकायसँग निकै ठूलो पहल र प्रयत्न गरेर यो कामलाई सम्भव बनाएका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “यसका लागि मुख्यमन्त्री शेरधन राईले पनि निकै चासोका साथ कामलाई अगाडि बढाउन निर्देशन दिनुभएको छ ।” गाउँपालिकाको केही क्षेत्रमा केन्द्रीय विद्युत् प्रसारण लाइन जोडिए पनि अधिकांश दुर्गम क्षेत्रका स्थानीयवासी विद्युत् सेवाबाट बञ्चित छन् । गाउँपालिकाभित्र तीन हजारभन्दा बढी घरपरिवारको बसोबास रहेको छ । गाउँपालिकाले सबै क्षेत्रमा विद्युत् विस्तारका लागि ठूलो बजेट लाग्ने भएपछि दुर्गम क्षेत्रका स्थानीयबासीलाई लक्षित गरेर सौर्यबत्ती लगायतका सामग्री वितरण गर्दै आएको छ ।

अहिले गाउँपालिका केन्द्र च्याङ्ग्रेको केही भाग, वडा नं २ तिवारीभञ्याङको करिब ७० प्रतिशत, वडा नं १ श्यामशीला र वडा नं। ५ सानोदुम्माको केही भागमा मात्र विद्युत् विस्तार भएको छ । प्रदेश १ सरकारले घरघरमा उज्यालो पु-याउने अभियानअन्तर्गत विद्युत् विस्तारको प्रक्रिया शुरु गरिरहेको हो । पौवादुङमा गाउँपालिकामा विद्युत् विस्तारका लागि रु चार करोड ४० लाखको बोलपत्र आह्वान गरिएको भोजपुर वितरण केन्द्रका प्रमुख रविनबाबु घिमिरेले जानकारी दिनुभयो । तीमध्ये जनशक्ति व्यवस्थापन तथा अन्य प्राविधिक कामको लागि रु ९९ लाख ५३ हजार ६३३ खर्च हुने अनुमान रहेको उहाँले बताउनुभयो ।

सबै प्रक्रिया सम्पन्न गरेर मंसिर अन्तिमदेखि काम शुरु गरिने प्रमुख घिमिरेले बताउनुभयो । दुई नगरपालिका र सात गाउँपालिकामध्ये भोजपुरको पश्चिमी क्षेत्रमा अवस्थित टेम्केमयुङ गाउँपालिकामा केन्द्रीय प्रशारण लाइन र स्थानीय स्तरमा उत्पादन भएको विद्युत् गरी गाउँपालिकामा ९७ प्रतिशत भन्दा बढी विद्युत्को पहँुच पुगेको गाउँपालिकाका प्रवक्ता सुनिल राईले जानकारी दिनुभयो । दक्षिणी क्षेत्रमा अवस्थित हतुवागढी गाउँपालिकाको करीब १० प्रतिशत भू–भागमा मात्र विद्युत् विस्तार भएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभयो । भोजपुर नगरपालिकाको सबै वडामा नै विद्युत् पुगेको भए पनि केही वडाका सबै घरपरिवारमा पुग्न केही समय लाग्ने भोजपुर नगरपालिकाका उपप्रमुख ममिता राईले बताउनुभयो । षडानन्द नगरपालिकाका करीब ७० प्रतिशत क्षेत्रमा विद्युत् विस्तार भइसकेको र अन्य क्षेत्रमा पनि विस्तारको काम भइरहेको उप प्रमुख मेरिका राईले बताउनुभयो ।

साल्पासिलिछो, आमचोक र अरुण गाउँपालिकाको केही वडामा विद्युत् विस्तार भए पनि पनि अधिकांश ठाउँमा विद्युत् पुग्न सकेको छैन । ती स्थानीय तहले पनि सबै ठाउँमा विद्युत् विस्तार गर्ने लक्ष्यका साथ योजना बनाएर काम अगाडि बढाएको बताइएको छ । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार भोजपुरमा हालसम्म ४७ प्रतिशत जनता विद्युत्को पहँचमा रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology