• Monday 3rd of August 2026

अज्ञात रोगले बाख्रा मर्न थालेपछि किसान चिन्तित


  • गोकर्णेश्वर अनलाइन

जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकाका किसानले पालेका बाख्रा अज्ञात रोगले मर्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । ज्वरो आउने, कान सुन्निने, सिङको फेदमा सुन्निने, नाक थुन्निने, श्वास फेर्न गा¥हो हुनेजस्ता लक्षण देखिएको केही दिनमै बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका हुन् । गत असारदेखि फैलिएको अज्ञात रोगका कारण धमाधम बाख्रा मरेपछि दुवै गाउँपालिकाका अधिकांश किसानका खोर नै रित्तिएको स्थानीयवासीले बताएका छन् । अज्ञात रोगले धमाधम बाख्रा मर्न थालेपछि व्यावसायिक रुपमा बाख्रा पालन गर्दै आएका किसान सबैभन्दा बढी मारमा परेका छन् । अज्ञात रोगले खोरमा पालिएका नौँवटा बाख्रा मर्दा खोर नै रित्तिएको जन्तेढुङ्गा गाउँपालिका–५ खुटाकी रिता खत्रीले बताउनुभयो । “मैले पालेको बाख्रामा असारदेखि रोग देखिएको हो । आज बिरामी भएको बाख्रा भोलि खोरमै मरिरहेको हुन्थ्यो”, उहाँले भन्नुभयो, “खोर नै रित्तो भएपछि पुनः चारवटा बाख्रा ल्याएर हालेको छु ।”

बाख्रामा फैलिएको रोग नियन्त्रण गर्न हालसम्म गाउँपालिकाको तर्फबाट कुनै पनि प्रयास नभएको किसानको गुनासो छ । अज्ञात रोगबाट बाख्रा मर्नेक्रम अहिले पनि जारी रहेको खुटाकै स्थानीय बासिन्दा मिनबहादुर खड्काले बताउनुभयो । अज्ञात रोगले खुटाका ढकबहादुर परियारको पाँचवटा बाख्रा र दुईवटा खसी, गोपाल पौडेलको तीनवटा बोका, एकवटा खसी र एकवटा बाख्रा, गणेश खड्काको एकवटा खसी, दुर्गा खड्काको तीनवटा बोका, डाईश्वर कार्कीको एक वटा बोका मरिसकेका छन् । यसबीचमा बलबहादुर खड्काको सातवटा, झुना खत्रीको पाँचवटा, मिनबहादुर खड्काको छवटा, जितबहादुर कार्की र वीरबहादुर खड्काको चार÷चारवटा, जानुका खड्काको तीनवटा र शुभ सुवेदीको चारवटा बाख्रा मरिसकेको जनाइएको छ । बाख्रामा फैलिएको रोगको विषयमा हालसम्म कसैले पनि जानकारी नगराएको गाउँपालिकाका पशु शाखा संयोजक मनमायाँ योन्जनले बताउनुभयो ।

“अहिलेसम्म बाख्रामा देखिएको समस्याको बारेमा कसैबाट पनि जानकारी आएको छैन”, उहाँले भन्नुभयो, “जानकारी आएको खण्डमा तत्काल प्राविधिकलाई फिल्डमा पठाएर औषधि उपचार गरिनेछ । गत वर्ष पनि यस गाउँपालिकामा बाख्रामा अज्ञात रोग देखा परेकाले यसवर्ष समयमै औषधि ल्याएर पूर्व तयारी गरिएको छ ।” उता, खोटेहाङ गाउँपालिकाका किसानले पालेका बाख्रामा समेत अज्ञात रोग देखा परेको गाउँपालिकाले जनाएको छ । वडा नम्बर–१ लिकुवापोखरीका भविन कार्की र प्रेमकुमार राईको बाख्रा फर्ममा पालिएका बाख्रा धमाधम मर्ने क्रम जारी रहेको बताइएको छ । अहिलेसम्म उक्त गाउँपालिकाको वडा नम्बर–७ खोटाङबजारका लोमस ढकालका चारवटा, तुलसीराम चौलागाईँको छ, डम्बर चौलागाईँको सात, गोपाल ढकालको पाँच, मानबहादुर मगरको सातवटा बाख्रा मरिसकेको जनाइएको छ । यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका विभिन्न वडाका किसानले पालेका बाख्रामा समेत अज्ञात रोग देखा परेको किसानले बताएका छन् ।

जिल्लाका किसानले पालेका बाख्रामा फैलिएको अज्ञात रोगका बारेमा अहिलेसम्म आफूसँग कुनै जानकारी नआएको भेटेनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय खोटाङका प्रमुख चन्द्रकिशोर यादवले बताउनुभयो । “पीडित किसानबाट अहिलेसम्म गुनासो आएको छैन”, उहाँले भन्नुभयो, “सम्बन्धित क्षेत्रमा खटिएका प्राविधिकसँग समन्वय गरेर किसानको समस्या हल गरिनेछ ।” दश स्थानीय तह रहेको जिल्लाका विभिन्न ठाउँका किसानले पालेका बाख्रामा गत वर्ष पनि अज्ञात रोग फैलिएको थियो । जिल्लाका अधिकांश किसानले व्यावसायिक रुपमा बाख्रा पालन शुरु गरेका छन् ।

यो पनि हेर्नुहोस:

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology