• Saturday 25th of July 2026

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयद्वारा अनलाइन परीक्षा शुरु


  • गोकर्णेश्वर अनलाइन

कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ । मुलुककै शैक्षिक गतिविधि कोरोनाका कारण प्रभावित भइरहेका बेला विश्वविद्यालयले भने यहाँ व्यापक तयारीका बीच अनलाइन परीक्षा सञ्चालन गरिरहेको विश्वविद्यालयले जनाएको छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा अम्मराज जोशीले पहिलो चरणमा शुक्रबार सिभिल इञ्जिनियरिङ र कृषि विज्ञानका पहिलो र तेस्रो सेमेस्टरको परीक्षा शुरु भएको बताउनुभयो ।

उपकुलपति प्राडा जोशीले भन्नुभयो, “हामीले परीक्षा शुरु गर्नुअघि यहाँका प्राध्यापक र विद्यार्थीलाई यसको पद्धतिका विषयमा प्रशिक्षणसमेत दिएका छौँ ।” पहिलो दिनको परीक्षामा इञ्जिनियरिङका र कृषि विज्ञानतर्फ गरी १८३ विद्यार्थीले अनलाइनबाटै परीक्षा दिएको विश्वविद्यालयले जनाएको छ । परीक्षाका लागि बिहान ९ देखि २ बजेसम्म समय तोकिएको छ । उहाँले पठनपाठन सकिएका विषयको अनलाइन परीक्षा गर्न ठूलो चुनौती रहेपनि विश्वविद्यालयको प्राविधिक जनशक्ति अहोरात्र खटिएको बताउनुभयो । विद्यार्थीहरु अनलाइनको पहुँच बाहिर हुने अवस्था रहेकाले विश्वविद्यालयले अनलाइन परीक्षा सञ्चालनका सुदूरपश्चिमका ८८ वटै स्थानीय तहलाई पहल गरिएको छ ।

त्यसैगरी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक देवसिंह नाथले प्रविधि र अनेकन हिसाबले पछि रहेको सुदूरपश्चिममा अनलाइन परीक्षा गर्नु चुनौतीपूर्ण रहेको बताउनुभयो । “मुलुकका अन्य क्षेत्रमा रहेका पुराना र सुविधा सम्पन्न विश्वविद्यालयले नसकिरहेका बेला त्यो हामीबाट सम्भव हुनु यहाँका लागि गर्वको विषय पनि हो”, उहाँले भन्नुभयो, “अब विश्वविद्यालय प्रविधिसित पनि नजिक रहेर अगाडि बढ्दै छ ।”

यो पनि हेर्नुहोस:

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology