• Monday 3rd of August 2026

अन्तर्राष्ट्रिय गोदावरी खेलकुद भवन निर्माण अघि बढ्दै


  • गोकर्णेश्वर अनलाइन

गोदावरीमा धमाधम ‘अन्तर्राष्ट्रिय गोदावरी खेलकुद भवन’ निर्माणको काम अघि बढेको छ । गोदावरीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलकुद विकासका लागि उक्त काम अघि बढाइएको हो । ललितपुर क्षेत्र नं १ प्रतिनिधिसभाका सदस्य नवराज सिलवालले गत आर्थिक वर्ष २०७५/७६ मा रु २० लाख सहयोग गरेर भवन निर्माण अघि बढाइएको उपभोक्ता समितिका अध्यक्ष इञ्जीनियर राजेश पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “गत आव २०७६/७७ मा सामाजिक विकास मन्त्रालयअन्तर्गत छुट्टै रु एक करोड सहयोग भएको थियो ।” हालसम्म खेलकुद भवन निर्माणका लागि रु एक करोड ३० लाख खर्च भएको र भवनको काम पनि ५० प्रतिशत सम्पन्न भइसकेको इञ्जीनियर पौडेलले जानकारी गराउनुभयो ।

गोदावरीमा एक व्यक्तिले अर्काे चिन्ने वातावरण नरहँदा खेलकूदको माध्यमबाट वडा नं १ गोदामचौर, नं २ विशङ्खु, नं ३ साविकको गोदावरी, बडिखेल, नं १३ झरुवारासी र नं १४ ठैवका मानिसले एकअर्कामा सम्पर्क बढाई भित्री खेलहरु ब्याडमिन्टन, कराँते, तेक्वान्दोे, टेबल टेनिस, बास्केटबल र भलिबल आदि खेल्ने व्यवस्था मिलाउन लागिएको समितिका उपाध्यक्ष सुरेन्द्र रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “चालु आर्थिक वर्ष २०७७÷७८ मा प्रदेश सरकारले रु २० लाख विनियोजन गरेको छ । खेलकुद भवनसँगै रहेको लगभग छदेखि सात रोपनी जमिनमा भवन व्यवस्थापन कार्यालय, सहायताकक्ष, वरिपरि पर्खाल, उद्यान, गाडी बिसाउने ठाउँ र बिहान व्यायाम गर्दै हिँड्ने मार्ग निर्माण गर्ने योजना पनि बनाइरहेका छौँ ।” समितिका सदस्यले यी सबै योजना पूर्ण गर्न करिब रु पाँच करोड लाग्ने अनुमान गरेका रावतले जानकारी गराउनुभयो ।

उक्त भवन निर्माण सम्पन्न भएपश्चात राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुनेछ । यसमा दुई ब्याडमिन्टन र चार टेबल टेनिस कोर्ट, भवनभित्र झण्डै ४०० मानिस अट्ने स्थान पनि बनाइने समितिका सचिव सन्तोष कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “खेलकुद भवनमा विभिन्न राष्ट्रको झण्डा राख्ने अवधारणा बनाइराखेका छाँै ।” सो भवन निर्माणको काम यही असार अन्त्यसम्म समाप्त गर्नुपर्ने थियो तर विश्वव्यापीरूपमा फैलिरहेको कोरोना महामारीका कारण काममा बाधा परेर ढिलो भइरहेकामा कुँवरले दुःख व्यक्त गर्नुभयो । “निमार्णाधीन खेलकुद भवन टौखेलबाट बडिखेल आउने मुख्य सडकमुनि गहिरो स्थानमा रहेको हुँदा यसलाई राम्रोभन्दा राम्रो बनाउन फ्रेन्ड्स अफ गोदावरीमा रहेका ५० सदस्यका साथै अन्य दाताहरुले रु ५० हजारदेखि रु एक लाख सङ्कलन गरेर करिब रु ३५ लाख भवनलाई सहयोग गर्नुभयो”, पौडेलले थप्नुभयो, “गोदावरी भिलेज रिसोर्टले खेलकुद भवन कोषलाई रु १० लाख दिने घोेषणासमेत गरिसकेको छ ।”

यसैगरी साविकको गोदावरीमा गोदावरीकुण्ड नजिकै धर्मशाला, नं २ मा प्राविधिक शिक्षालय, नं १० बहुउद्देश्यीय रङ्गशाला र यसै वडामा भाँगावनलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर हनुमानको मूर्ति प्रतिस्थापन, उद्यान तथा वनभोजस्थल निर्माण गर्न टाहाखेलदेखि सिँढी निर्माण र नं ११ चपागाउँमा वाग्मती प्रदेश सरकारको सहयोगमा बुलुमा उद्यान निर्माणको काम धमाधम भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology