• Monday 3rd of August 2026

नगरपालिकाका कागजात अख्तियारको नियन्त्रणमा


  • गोकर्णेश्वर अनलाइन

बैतडीको पाटन नगरपालिका कार्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले सोमबार नियन्त्रणमा लिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा अनियमितताको उजुरीपछि कागजपत्रहरु नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी हरीशचन्द्र जोशीले बताउनुुभयो । कोरोना नियन्त्रणको नाममा अनियमितता गरेको भनेर फोन र लिखित उजुरी आएपछि कागजपत्रहरु नियन्त्रणमा लिएको उहाँले बताउनुुभयो । नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा मात्रै गत आर्थिक वर्षमा रु एक करोड ७३ लाख खर्च भएको सार्वजनिक गरेको थियो ।

कोरोना नियन्त्रणमा अनियमितता भएको भन्दै नगरसभा सदस्य भीमदत्त भट्टको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । उक्त छानबिन समितिले यही असोज ९ गते प्रतिवेदन सार्वजनिक गर्दै कोरोना नियन्त्रण तथा अन्य शीर्षकमा रु ५३ लाख १५ हजार ७२१ अनियमितता गरेको ठहर गरेको थियो । सोही प्रतिवेदन र उजुरीका आधारमा छानबिन गर्नका लागि अख्तियारको टोलीले प्रतिवेदनसहित कोरोना जोखिम नियन्त्रणमा राहत सामग्री खरिद र वितरणका साथै सवारी साधन खर्चको विवरणसहितको फाइल नियन्त्रणमा लिएको हो ।

“छानबिन समितिले निकालेको प्रतिवेदनमा उल्लेख गरिएका बुँदाहरुका आधारमा सबै कागजात लगिएको छ”, सूचना अधिकारी जोशीले भन्नुभयो, “अनुसन्धान स्थलगत पनि हुन्छ ।” छानबिन समितिले कर्मचारीदेखि जनप्रतिनिधिहरुले सवारी साधन प्रयोगका नाममा अनियमितता गरेको ठहर गरेको थियो । समितिले प्रतिवेदन सार्वजनिक गर्दै प्रतिवेदनमा औँल्याइएका अनियमित खर्च असुलउपर गर्न नगरपालिकालाई आग्रह गरेको थियो । जवाफमा नगरप्रमुख केशवहादुर चन्दले छानबिन गरी अनियमितता गरेको भए असुलउपर गरिने बताउनुुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology