• Monday 3rd of August 2026

भागेश्वरको रुपालमा सशस्त्रको बीओपी स्थापना


  • गोकर्णेश्वर अनलाइन

भारतसँग सीमा जोडिएका डडेल्धुराको भागेश्वर गाउँपालिका–१ रुपालस्थित सेल्टुडामा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाउने नेपाल सरकारको नीतिअनुसार बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ वाहिनी मुख्यालयका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशङ्कर बुढाथोकीले बताउनुभयो । उहाँले सीमा सुरक्षा, सीमा स्तम्भहरुको संरक्षण र सीमामा हुने आपराधिक गतिवितिहरु नियन्त्रणका लागि सशस्त्र प्रहरीको बिओपी स्थापना गरिएकोे हो भन्नुभयो ।

राज्यले सङ्गठनलाई दिएको सीमा सुरक्षाको जिम्मेवारी गहन रुपमा बहन गर्न पोष्टमा खटिएका प्रहरीलाई समेत उहाँले निर्देशन दिनुभयो । भारतसँग सीमा जोडिएका डडेल्धुराको परशुराम नगरपालिकाको साँदनी बजार, परीगाउँ र अर्सुरानी गाउँमा यसअघि नै सशस्त्र प्रहरीको बीओपी स्थापना भइसकेका छन् । सेल्टुडामा बिओपी स्थापना भएसँगै नेपाल भारत सीमामा हुन सक्ने चोरी सिकारी, तस्करीका साथै आपराधिक घटनामा कमी हुने विश्वास लिइएको छ ।

बिओपी स्थापना भएसँगै सीमा सुरक्षा हुने भागेश्वर गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले बताउनुभयो । सीमा सुरक्षाका साथै सीमामा हुन सक्ने आपराधिक घटनामा नियन्त्रण गर्नका लागि सहज हुने विश्वास उहाँको छ । नेपाल प्रहरीको रुपालस्थित चौकीको पहुँचबाट टाढा भएकाले सो क्षेत्रमा विगतका दिनदेखि नै चोरी सिकारी हुने गरेको स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology