शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका उद्धवराज भट्ट पेशाले अधिवक्ता छन् । अधिवक्तासँगै उहाँ सफल कुखुरापालक व्यवसायीका रुपमा समेत परिचित छन् । चार वर्षदेखि उहाँले अण्डा दिने लेयर्सजातका कुखुरा पाल्नुभएको छ । कुखुरापालनका लागि उहाँले बैंकबाट रु १० लाख कर्जा र आफूसँग रहेको रु तीन लाख गरी रु १३ लाख रकम खर्चिनुभएको छ । कुखुराका लागि प्राविधिकको सहयोगमा आधुनिक फार्म हाउस निर्माण गर्न र कुखुराका चल्ला राख्नका लागि कर्जा लिएको रकम परिचालन गरिएको छ । बिहानको झिसमिसेमै उहाँले कुखुरालाई चारो राख्ने, औषधोचार गर्ने र खोप दिने कार्य गर्नुहुन्छ । कार्यालयबाट साँझ घर फर्केपछि पुनः कुखुराको हेरचाहमा मध्यरातसम्म खट्नुहुन्छ । स्नातक तहमा पढ्दै आएका उहाँका छोरा पवनराज भट्टलेसमेत बुवालाई सघाउने कार्य गर्दै आएका छन् । कुखुराले दिने अण्डा सङ्कलन गर्ने र बजारमा बेच्ने कार्यसँगै बजारबाट चारो ल्याउने कार्यमा पवन खटिँदै आएका छन् । उहाँको फार्म हाउसमा एक हजार कुखुरा पालिएका छन् ।
फार्ममा पालिएका सबै कुखुरा अण्डा दिने लेयर्स जातका छन् । दैनिक कुुखुराले ८०० देखि ९०० को हाराहारीमा अण्डा दिने गरेका छन् । कुखुराका उत्पादित अण्डा स्थानीय बजारमै खपत हुने गरेको छ । अण्डा थोक दरमा प्रतिपेटी रु एक हजार २०० देखि रु एक हजार ६०० सम्ममा बिक्री हुने गरेको छ । प्रतिपेटीमा २१० जति अण्डा राखिने गरिएको छ । प्रतिपेटीमा खर्च कटाएर रु ४०० जति नाफा हुने गरेको छ । दैनिक चार पेटीजति अण्डा उत्पादन हुने गरेको अधिवक्ता भट्टको भनाइ छ । “वकालत पेशाबाट आएको भन्दा कुखुरापालन गरेर बढी आम्दानी हुने गरेको छ”, उहाँले भन्नुभयो, “अधिकृतस्तरका कर्मचारीले पाउने तलबभन्दा बढी रकम कुखुरापालनबाट आउने गरेको छ ।” अण्डा बिक्री गरेर मासिकरुपमा रु ३० हजारदेखि ३५ हजारसम्म कमाइ हुने गरेको छ । कुखुरापालनबाट आएको रकमले छोराको पढाई खर्चसँगै घरायसी खर्च हुने गरेको उहाँले बताउनुभयो ।
“विगतका दुई वर्षमा अण्डाको बिक्रीबाट राम्रै आम्दानी भएको थियो”, उहाँले भन्नुभयो, “गत वर्ष चारोको मूल्यमा वृद्धि हुँदा रु चार लाखजति घाटा लागेको थियो ।” “छोरालाई स्वावलम्बनबारे जानकारी दिनका लागि कुखुरापालन व्यवसाय शुरु ग¥यौं । कुखुरापालनबाट गतिलो आम्दानी हुन थालेपछि यसलाई व्यवसाय नै बनाएका छौँ”, उहाँले भन्नुभयो, “रोजगार पाइएन भने र वैदेशिक रोजगारीमा जानुभन्दा आफैँ स्वोरोजगार सिर्जना गरेका छौँ ।” घरमै बसीबसी आम्दानी हुन थालेपछि रोजगार खोज्नका लागि अन्यत्र भौतारिँदै हिड्नु नपर्ने उहाँको भनाइ छ । “अरु ठाउँमा काम गर्दा निश्चितरुपमा तलबका रुपमा रकम पाइने गरेको छ । थोरै लगानी गरेर सञ्चालन गरेको व्यवसायबाट समेत धेरै आम्दानी लिन सकिन्छ । त्यसका लागि दृढ इच्छाशक्ति र गतिलो मिहिनेतको खाँचो छ”, उहाँले भन्नुभयो । अधिवक्ता भट्ट दुई दशकदेखि वकालत पेशामा संलग्न रहनुभएको छ । उहाँ कृष्णवैजनाथ बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्षसमेत हुनुहुन्छ ।
