• Monday 3rd of August 2026

दुई महिनामा पाँच गैँडा मरे


  • गोकर्णेश्वर अनलाइन

चालू आर्थिक वर्ष २०७७/७८ को साढे दुई महिनामा चितवन राष्ट्रिय निकुञ्जमा पाँचवटा गैँडा मरेका छन् । चारवटा गैँडा प्राकृतिक कारणले मरेको भए पनि एउटा गैँडा भने चोरी शिकारीका कारण मरेको निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार साउनमा एउटा, भदौ र असोजमा दुई/दुईवटा गैँडा मरेका हुन् । भदौमा मरेको दुई गैँडामध्ये एउटा गैँडा भने चोरी शिकारीका कारण मरेको रामले जानकारी दिनुभयो । “यस आर्थिक वर्षमा मरेका पाँच गैँडामध्ये चारवटा गैँडा कालगतिले मरेका छन्”, निकुञ्जका सूचना अधिकारी रामले भन्नुभयो, “भदौ १६ गते मरेको गैँडाको प्रकृति र शरीरमा लागेको चोट हेर्दा त्यो गैँडा चोरी शिकारीको कारण मरेको निकुञ्जले निष्कर्ष निकालेको छ ।” चितवन राष्ट्रिय निकुञ्जमा यो आव शुरु भएपछि साउन १७ गते पहिलो गैँडा मृत फेला पारेको थियो । त्यसपछि भदौ ६ मा पनि निकुञ्जभित्र मृत गैँडा फेला परेको थियो । रामका अनुसार ती दुवै मृत फेला परेका गैँडाको खाग र खुर सुरक्षित रहेकाले प्राकृतिक कारणले मरेका हुन् ।

त्यस्तै निकुञ्जभित्र भदौ २१ गते पनि मृत गैँडा भेटिएकामा त्यो गैँडा कालगतिले नमरेको रामले बताउनुभयो । “भदौ १६ गते निकुञ्जको सुरक्षा टोलीले गोली पड्केको आवाज सुनेपछि खोजीमा गएको निकुञ्ज प्रशासन र सेनाको टोली निस्किएको थियो”, रामले भन्नुभयो, “खोजीमा निस्किएको टोलीले पाँच दिनपछि भदौ २१ गते बाँदरझुला टापुको घोलमा मृत गैँडा फेला पा-यो ।” भदौ २१ गते मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित भेटिएको भए पनि टाउकोमा गोली लागेको घाउ भेटिएको उहाँले बताउनुभयो । टाउकोमा गोलीको घाउ देखिएको मृत गैँडाको परीक्षणका क्रममा गोली भने फेला नपरेको रामले जानकारी दिनुभयो । त्यस्तै असोज महिनामा १६ र १७ गते गरी दुईवटा गैँडा मृत अवस्थामा भेटिएका छन् । असोज १६ गते शुक्रबार चितवन राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्र (कोर एरिया) नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को लामीचौरमा रहेको निकुञ्जको सुरक्षा चौकीदेखि तीन किलोमिटर दक्षिणमा नारायणी नदीको बीच भङ्गालोमा गैँडा मृत अवस्थामा फेला परेको थियो ।

शुक्रबार भेटिएको मृत गैँडा एक/दुई महिनाअघि मरेका हुनसक्ने अनुमान गरिएको छ । सडेको अवस्थामा भेटिएको उक्त मृत गैँडाको पनि खाग र खुर सुरक्षित भेटिएको रामले बताउनुभयो । त्यस्तै शनिबार मात्रै पनि नारायणी नदीमा डुबेर मरेको एउटा पोथी गैँडा त्रिवेणीमा भेटिएको छ । गैँडाको पुरानो बासस्थान निकुञ्जको मुख्य क्षेत्रबाट सो गैँडालाई नारायणी नदीले बगाएर त्रिवेणी पु-याएको हुनसक्ने सूचना अधिकारी रामले बताउनुभयो । निकुञ्जबाट नदीमा बग्दै गएका अन्य कम्तीमा दुईवटा गैँडा त्रिवेणी क्षेत्रमा रहेका छन् । ती बग्दै गएका गैँडाहरु कहिले सुस्तातर्फको उखुबारीमा त कहिले भारतीय क्षेत्रमा आवतजावत गर्ने गरेको निकुञ्जले जनाएको छ । दुर्लभ जनावर एकसिङ्गे गैँडाको मुख्य बासस्थानको रुपमा चितवन राष्ट्रिय निकुञ्ज रहेको छ । सन् २०१५ मा गरिएको गैँडा गणनाअनुसार देशभर ६४५ गैँडा रहेकामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०५ वटा गैँडा भेटिएका थिए । पहिलो गैँडा गणनापश्चात निकुञ्ज क्षेत्रमा कालगतिका कारण ठूलो सङ्ख्यामा गैँडा मरेका छन् । निकुञ्जले दिएको तथ्याङ्कअनुसार आव २०७४/७५ मा २६ गैँडा मरेका छन् ।

त्यस्तै २०७५/७६ मा ४३, २०७६/७७ मा २६ गैँडा मरेका थिए भने चालू आव २०७७/७८ मा पाँचवटा गैँडा मरिसकेका छन् । चितवन राष्ट्रिय निकुञ्जले गत वर्ष गैँडा गणना गर्ने तयारी गरेको भए पनि कोरोना महामारीका कारण गणना प्रभावित भएको थियो । गत वर्ष हुननसकेको गैँडा गणना यस वर्ष हुने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो । त्यस्तै निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्न थालेपछि यसको अध्ययनसमेत भइरहेको बरालको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology