• Monday 3rd of August 2026

राजधानी सार्ने प्रस्तावको विरोधमा व्यवसायी आन्दोलनमा


  • गोकर्णेश्वर अनलाइन

प्रदेश नं ५ को स्थायी राजधानीका लागि प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको प्रस्तावको विरोधमा आज रुपन्देहीका विभिन्न स्थानमा बिहानैदेखि सडकमा उत्रेर प्रदर्शन भएका छन् । राजधानी सार्ने प्रस्तावको विरोधमा यहाँका निजी क्षेत्रका व्यावसायिक सङ्घसंस्था आन्दोलनमा उत्रिएका हुन् । जिल्लाका विभिन्न सङ्घसंस्थाले आह्वान गरेको प्रदर्शन बुटवल राजमार्ग चौराहाबाट शुरु भएर ट्राफिक चोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभामा नेपाल च्याम्बर अफ कमर्सका केन्द्रीय सदस्य टङ्प्रसाद पोखरेलले सरकारले रुपन्देहीलाई नै स्थायी राजधानी नबनाएर अन्यत्र लैजान संसद्मा प्रस्तुत गरेको प्रस्तावका विपक्षमा मतदान गर्न प्रदेशसभा सदस्यलाई आह्वान गर्नुभयो । उहाँले जनताको अभिमत महत्वपूर्ण हुने जनाउँदै जनताको साथ रहँदासम्म ढुक्क हुन र विपक्षमा उभिन आग्रह गर्नुभयो ।

उद्योग परिसङ्घका एजाज आलमले दाङलाई राजधानी बनाउन त्यस क्षेत्रका नेताहरु खुलेर लाग्दा रुपन्देहीलाई राजधानी बनाउनका लागि यस क्षेत्रका प्रदेशसभा सदस्य खुल्न नसकेका भनी आपत्ति व्यक्त गर्नुभयो । कार्यक्रममा रुपन्देही उद्योग सङ्घका कार्यवाहक अध्यक्ष माधव पौडेल, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, रुपन्देही व्यापार सङ्घका अध्यक्ष यमलाल लोहनी, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष खिमबहादुर हमाललगायतले बुटवलबाट राजधानी सार्ने प्रस्तावको विपक्षमा मतदान गर्न आग्रह गर्नुभयो । यस्तै राजधानी सार्ने प्रस्तावको विरोधमा नेपाली काङ्ग्रेस रुपन्देहीले आह्वान गरेको जिल्ला बन्दले यहाँको जनजीवन प्रभावित भएको छ । कोरोनाका कारण राम्रोसंँग सहज हुन नसकेको सर्वसाधारणको जनजीवन बन्द तथा अन्दोलनले झनै प्रभावित भएको छ । बन्दका कारण व्यापारव्यवसाय पूर्ण बन्द छन् । यस्तै सार्वजनिक यातायात पनि अधिकांश संचालनमा आउन सकेका छैनन् ।

सडकमा साना सवारी साधन भने निर्बाध चलेका छन् । अस्थायीलाई स्थायी राजधानी बनाउन नेकपाको आग्रह नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी रुपन्देहीले अस्थायी सदरमुकामलाई स्थायी राजधानीका रुपमा अगाडि बढाउन आग्रह गरेको छ । पार्टीका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र सचिव नारायणबहादुर जिसीले आज विज्ञप्ति जारी गर्दै पार्टी पङ्क्ति, जनमत र नागरिक आवाजलाई सम्मान गर्न अनुरोध गर्नुभएको छ । संविधानले प्रदेश राजधानी तोक्दा प्रशासनिक भूगोल र भौतिक पूर्वाधारको विकासलाई ध्यान दिनुपर्ने विषय निर्दिष्ट गरेको उल्लेख गर्दै विज्ञप्तिमा प्रदेश सरकारले स्थायी राजधानीका सन्दर्भमा गरेको निर्णय संविधानको भावनालाई आत्मसात् नगरेको जनाइएको छ । प्रदेश सरकारले राजधानी बुटवलबाट देउखुरी सार्ने प्रस्ताव प्रदेशसभामा पेश गरेको छ । विगत निर्वाचनमा जनतासँग गरिएको वाचा स्मरण गर्न आग्रह गर्दै विज्ञप्तिमा कोरोना महामारीको अवस्थामा सरकारले पेश गरेको यो प्रस्ताव औचित्यपूर्ण नभएको उल्लेख छ ।

रुपन्देहीबासी र यहाँका सङ्घसंस्थाले प्रदेश सरकार र विभिन्न अङ्गलाई स्थापित गर्ने सम्बन्धमा गरेको योगदानप्रति सम्मान गर्न पनि प्रदेश सरकारलाई आग्रह गरिएको छ । यसअघि निषेधाज्ञा तोडर यहाँका विभिन्न व्यावसायिक सङ्घसंस्थाले प्रदर्शन गरेका थिए । रुपन्देहीको बुटवलमा यही असोज २१ गतेसम्म विभिन्न स्थानमा निषेधाज्ञा जारी भएको थियो । प्रदेशसभामा स्थायी राजधानीबारे सोमबार छलफल हुने कार्यक्रम छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology