• Monday 3rd of August 2026

उदयपुरमा बलान खोलामा पक्की पुल शिलान्यास


  • गोकर्णेश्वर अनलाइन

उदयपुरको उदयपुरगढी गाउँपालिका–७ कोल्टेस्थित हलेसी सडकखण्डमा पर्ने बलान खोलामा पक्की पुल शिलान्यास गरिएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङगा नगरपालिकादेखि उदयपुरको उदयपुरगढीस्थित कोल्टे, मैनीटा र चुरम्फा हुँदै लिम्चुङबुङ गाउँपालिकाको बाँसबोटे भएर खोटाङको धार्मिकस्थल हलेसीसम्म जोड्ने कोल्टे हलेसी सडकखण्डमा पर्ने बलान खोलामा निर्माण गरिने पक्की पुल सोमबार प्रदेशसभा सदस्य नारायण बुर्जा मगरले औपचारिकरुपमा शिलान्यास गर्नुभएको हो ।

प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु पाँच करोड नौ लाखको लगानीमा निर्माण हुने सो पक्की पुलको लम्बाइ ३७.२ मिटर र चौडाइ ८.५० मिटर रहेको उदयपुरगढी गाउँपालिकाकी उपाध्यक्ष सानुकुमारी राउतले बताउनुभयो ।

आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने गरी सामना कन्ट्रक्सन कम्पनी हेटाँैडाले पुल निर्माणको ठेक्का लिएको भौतिक पूर्वाधार कार्यालय उदयपुरका प्रमुख जीतेन्द्रकुमार कर्णले बताउनुभयो । पुल निर्माणसँगै अब प्रदेश नं २ को सप्तरी सुरुङगा क्षेत्रबाट सिधँै उदयपुरको मध्यपहाडी क्षेत्रको उदयपुरगढी लिम्चुङबुङ गाउँपालिका भएर खोटाङको हलेसीसम्म सिधैँ यात्रा गर्न सहज हुने उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर केपीछाके मगरले बताउनुभयो ।

सो अवसरमा प्रदेश नं १ का प्रदेशसभा सदस्य मगरले उदयपुरको मध्यपहाडी क्षेत्रका जनतालाई छिमेकी खोटाङको हलेसीसम्म जोड्न यो सडक निर्माणको लागि प्रदेश सरकारसँग पहल गरेर बजेटको व्यवस्थापन गरेको बताउँदै सो सडकखण्डमा पर्ने बलान खोलामा पक्की पुल निर्माण भएपछि यातायात सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश नम्बर २ को सप्तरी सिरहा र भारतको बिहारसम्मका जनतालाई पनि सप्तरी हुँदै कोल्टे हलेसी सडकखण्ड भएर खोटाङको हलेसी धार्मिकस्थलसम्म आवतजावत गर्न सहज हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology