• Monday 3rd of August 2026

सूर्यविनायकको अनन्तलिङ्ग डाँडामा होमस्टे पर्यटनको उद्घाटन


  • गोकर्णेश्वर अनलाइन

साँझ ढल्किदै थियो, पारीपट्टी गाउँमा बत्ती बल्न थालिसकेका थिए । सूर्यविनायक नगरपालिका–४ दधिकोट अनन्तलिङ्गेश्वर कैलाश डाँडामा बाजा बजिरहेको थियो, स्थानीय बालिका नाचिरहेका थिए ।

कोरोनाले महामारीको रुप लिइरहँदा स्थानीयवासीलाई त्यसको खासै प्रवाह थिएन । हिजो मङ्गलबार साँझ आफ्नै गाउँमा होमस्टे सञ्चालनमा आएको खुशीले स्थानीयवासीमा कारोना सङ्क्रमणको डर सायद बिर्सिएका थिए । गाउँमा पर्यटनको विकास भएकामा उनीहरुमा मात्रै खुशी थियो ।

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले होमस्टे प्रवेश गर्ने गाउँमा स्थानीयवासीले बनाएको गेटमा टाँगिएको रिबन काटेर सूर्यविनायक–४ दधिकोटस्थित अनन्तलिङ्ग सामुदायिक होमस्टको उद्घाटन गर्नुभयो । बाजाको तालमा स्थानीयवासी नाच्दै गाउँ पसे, साँझ परिसके पनि नगरप्रमुख थापा, जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवर, नगरउपप्रमुख जुना बस्नेत, वडा नं ४ का वडाध्यक्ष उत्तम थापा, वडा नं १ का वडाध्यक्ष सानुकाजी कायस्थलगायत जनप्रतिनिधि, चलचित्र निर्देशक एवं समाजसेवी मदन घिमिरेले होमस्टेको अवलोकन गर्नुभयो ।

स्थानीयवासीले अतिथिका लागि तयार पारेको मकै, भटमास, गुन्द्रुकको अचार र लोकल मोहीको मीठो स्वादले सायद कोरोनाको त्रास सबैमा बिर्साइदिएको थियो । त्यसैले त अतिथि, पाहुनादेखि स्थानीयवासीमा समेत खाजा खानेदेखि सामूहिक तस्बिर खिच्दासम्म कोरोनाको त्रास देखिएको थिएन । सोही डाँडाबाट देखिएको सूर्यास्तको दृश्य र साँझ काठमाडौँ उपत्यकाको झिलीमिली दृश्य साह्रै मनमोहन थियो । बिहान सोही ठाउँबाट देखिने सेता हिमाल र उपत्यकाको दृश्य पनि उत्तिकै मनमोहन लाग्ने स्थानीयवासीको भनाइ थियो ।

सूर्यविनायकका पहाडी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने जमर्कोमा जुटेका प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री महेश बस्नेत, वाग्मती प्रदेश सदस्य शशिजंग थापा, सूर्यविनायकका प्रमुख वासुदेव थापालगायतको जनप्रतिनिधिको प्रयासले मूर्तरुप लिने क्रममा अर्को खुट्किलो थियो, हामेस्टे ।

सो अवसरमा नगरप्रमुख थापाले पर्यटन विकासको अथाह सम्भावना बोकेको सूर्यविनायक नगरक्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सङ्घीय, प्रदेश र स्थानीय तीनवटै सरकार सक्रिय भएर लागेको बताउनुभयो । उहाँले सूर्यविनायकका १० वटै वडामा रहेको प्रसिद्ध महादेव मन्दिर पुग्नेगरी शिव सर्किटको निर्माण गर्दै धार्मिक पर्यटकीय गन्तव्य बनाउने, अनन्तलिङ्गदेखि सिपाडोल, नंखेलसम्ममा हामेस्टे पर्यटनको प्रवद्र्धन गर्ने, कृषि पर्यटनकोसमेत विकास गर्ने लक्ष्य लिएर काम भइरहेको बताउनुभयो ।

अनन्तलिङ्ग र रानीकोटमा भ्यू टावर निर्माणको काम शुरु भएको बताउँदै उहाँले घ्याम्पेडाँडादेखि रानीकोटसम्ममा करोडाँैको लगानीको होटलको निर्माण भइरहेको बताउँदै यहाँका डाँडाबाट देखिने उपत्यका र नजिकबाट देखिने हिमशृङ्खला, अनन्तलिङ्गेश्वर मन्दिरको दर्शन यहाँको आकर्षण रहेको बताउनुभयो । उहाँले पर्यटन विकासका लागि आवश्यक सडकदेखि अन्य पूर्वाधार धमाधम निर्माण भइरहेको बताउँदै सूर्यविनायकको मुहार फेर्ने काममा तीनवटै सरकार लागिरहेको बताउनुभयो ।

कार्यक्रममा जिसस उपप्रमुख कुँवर, नगरपालिकाका उपप्रमुख बस्नेतलगायतले यहाँको उत्पादनको बजारीकरण गर्न र स्वरोजगारका साथै आर्थिक अवस्था उकास्न हामेस्टे पर्यटन सफल हुने बताउनुभयो । साथै यहाँका कला संस्कृतिको संरक्षणमा पनि यसले टेवा पु¥याउने बताउनुभयो ।

अनन्तलिङ्ग सामुदायिक होमस्टे समितिका अध्यक्ष नारायणप्रसाद धितालले यहाँ आउने पाहुनाले अनन्तलिङ्गको कैलाश डाँडाबाट बिहान हिमाल र उपत्यकाका झिलीमिली हेरेर मनोरञ्जन लिनसक्ने बताउनुभयो । अन्तलिङ्ग आधारभूत स्कुलदेखि लामाटार सीमासम्म बाटो सुधार, विस्तार, प्रभातकालीन भ्रमणका लागि सिँढी निर्माण, खेलमैदान, भ्यू टावर निर्माण कार्य भइरहेको यो क्षेत्रमा पाहुँना आउँदा मकै, भटमास, मोही र गुन्द्रकले स्वागत गर्ने, स्थानीय उत्पादन दाल, तरकारी र लोकल कुखुरा, ढिँडोलगायत खाना, खाजाको व्यवस्था गर्ने बताउनुभयो । हाल सात वटा घरबारबाट शुरु भएको होमस्टे केही दिनमै ११ वटा घरसम्म पु¥याउने बताउँदै उहाँले बेलुकाको खाना, बस्ने र बिहानको नास्ता गरेर रु एक हजार ३०० मा सेवा दिने व्यवस्था गरेको बताउनुभयो ।

होमस्टेका सचिव कमल न्यौपानेले सिँढी बनाउन वाग्मती प्रदेश सरकारबाट रु २० लाख र तारा गाउँ विकास समितिबाट रु ११ लाख सहयोग प्राप्त भएको जानकारी दिदैं यहाँको भौतिक संरचना निर्माणमा तीनवटै तहका सरकारको सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology