• Monday 3rd of August 2026

निजीका शिक्षक र कर्मचारीले पाएनन् ६ महिनाको देखिको तलब


  • गोकर्णेश्वर अनलाइन

झापाका निजी विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले बन्दाबन्दी शुरु भएयता ६ महिनाको तलब पाएका छैनन् ।

मुनाफा हुँदा सञ्चालकहरुले मात्र पाउने तर सङ्कट पर्दा श्रमजीवीले पारिश्रमिक नै त्यागिदिनु पर्ने दबाब कुनै हालतमा मान्य नहुने भन्दै शिक्षकको नेतृत्व गरिरहेको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले अडान लिएको छ । उता विद्यालय सञ्चालकहरुको नेतृत्व गरिरहेका प्याब्सन र एन–प्याब्सनले विद्यालय नै कोरोना कहरले बन्द भएको अवधिको तलब दिन असमर्थता व्यक्त गरिरहेका छन् ।

दुवै पक्षबीच पटकपटक अनौपचारिक छलफल भए । तर निकास निस्किएको छैन । प्याब्सन झापा र इस्टु झापाबीच शिवसताक्षीको दुधेमा आज भएको औपचारिक वार्ता बिनानिष्कर्ष टुङ्गियो । इस्टुका झापा अध्यक्ष होमराज खतिवडाले दशैँ सङ्घारमा आइसक्दा पनि श्रम गरिरहेको विद्यालयबाट आधा वर्षकै तलब नपाउनु त्यसबाटै परिवारको भरणपोषण गरिरहेका शिक्षक तथा कर्मचारीका लागि मार्मिक समस्या भएको बताउनुभयो ।

झापामा ४०० निजी विद्यालय र त्यसमा करिब पाँच हजार शिक्षक कर्मचारी कार्यरत रहेका छन् । ती सबै विद्यालयले कोभिड–१९ का कारण चैतमा बन्दाबन्दी शुरु भएयता ६ महिनाको तलब दिएका छैनन् । जम्मा ११४ वटा विद्यालयले फागुन र माघ महिनाको समेत तलब नदिएको खतिवडाले बताउनुभयो ।

इस्टुका जिल्ला अध्यक्ष खतिवडाले ६ महिनाको तलब अहिले एकैपटकमा दिन नसक्ने भए एक महिनाको तलब र दशैँ खर्च तत्काल दिन र बाँकी तलब क्रमशः दिँदै जान आग्रह गर्दासमेत विद्यालय सञ्चालक नमानेको बताउनुभयो । ‘‘हाम्रा जायज माग बेवास्ता गरिए विद्यालय ठप्प पार्ने आन्दोलन गर्नुको विकल्प अब बाँकी रहेन,’’ इस्टुका जिल्ला अध्यक्ष खतिवडाले भन्नुभयो, ‘‘स्कुलका भवन रहने, गाडी रहने, अनलाइन कक्षा चल्ने, बिहान ६ देखि बेलुका ६ बजेसम्म शिक्षकले अनलाइनका लागि खट्नुपर्ने तर शिक्षक कर्मचारीले तलब चाहिँ नपाउने कुरा मान्य हुँदैन ।’’

परिवारको भरणपोषण गर्नैका लागि शिक्षक तथा कर्मचारीले निजी विद्यालयमा घोटिएर जागिर खाएको जनाउँदै उहाँले चाडबाडको मुखमा भोकभोकै बस्नुपर्ने दयनीय अवस्थाप्रति सरकारको ध्यान जानुपर्ने बताउनुभयो । प्याब्सन झापाका अध्यक्ष एलपी उप्रेतीले ६ महिनासम्म विद्यालय बन्द भएका कारण सबै तलब एकैचोटी भुक्तानी गर्न नसकिने बताउनुभयो । ‘‘हामीले तलब दिँदैनौँ भनेका छैनौँ,’’ उप्रेतीले भन्नुभयो ‘‘खाली हात नहुने गरी कुन मोडालिटीमा तलब दिन सकिन्छ भनेर कसरत गरिरहेका छौँ ।’’

कोभिड–१९ को महामारीले शिक्षक र कर्मचारीलाई मात्र नभएर विद्यालयका सञ्चालक, अभिभावक तथा विद्यार्थी सबैलाई मारमा पारेको हुँदा बन्दाबन्दी अवधिको तलबका विषयमा लचकदार भएर निकास निकाल्नुपर्ने उहाँको धारणा छ ।

लामो अवधिदेखि तलब नपाउँदा शिक्षक र कर्मचारीको चुल्हो निभ्ने अवस्था आएको इस्टु भद्रपुरका अध्यक्ष द्रोण अधिकारीले बताउनुभयो । हजारौँ श्रमजीवीले तलब नपाएर समस्या भोगिरहनु परेको अवस्थाप्रति सरकारले पनि बेवास्ता दर्शाएको उहाँको गुनासो थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology