• Monday 3rd of August 2026

‘एक घर, एक धारा’ भन्ने नाराका साथ स्याङ्जाको १०५ घरमा पानीका धारा जडान


  • गोकर्णेश्वर अनलाइन

स्याङ्जाको विरुवा गाउँपालिका–३ राङभाङमा १०५ घरमा ‘एक घर, एक धारा’ जडान गरिएको छ । राङभाङ गाउँभन्दा झण्डै ५०० मिटर तल रहेको धरादी खोला मूहानबाट पानी तानेर पाइपमार्फत घर–घरमा पानी वितरण गरिएको राङभाङ लिफ्टिङ खानेपानी समितिका अध्यक्ष गोविन्दबहादुर आलेले बताउनुभयो ।

विगत लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका त्यहाँका स्थानीय घर–घरमै धारा पुगेपछि हर्षित भएका छन् । “पानीको स्रोतभन्दा बस्ती माथिल्लो भागमा रहेकाले यहाँको मुख्य समस्या खानेपानीको थियो”, समितिका अध्यक्ष आलेले भन्नुभयो, “आर्थिक वर्ष २०७१÷०७२ बाट निर्माण शुरु भएको योजना हालैमात्र सम्पन्न भएर घर–घरमा धारा जडान गरी पानी वितरण गर्न सफल भएका छौँ” ।

गण्डकी प्रदेश सरकारअन्तर्गतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र स्थानीय जनश्रमदानसहित रु एक करोड ७५ लाखको लागतमा योजना सम्पन्न भएको समितिका अध्यक्ष आलेले बताउनुभयो । गाउँभन्दा माथि रहेको ठाउँमा पानी सङ्कलनका लागि ट्याङ्की निर्माणपश्चात प्रत्येक घरमा मिटरसहितको धारा जडान गरिएको छ ।

खानेपानी योजना सम्पन्न भएसँगै एकगाग्री खानेपानी लिनका लागि यहाँका बासिन्दाले कम्तीमा पनि आधा घण्टा हिँडेर गाउँभन्दा तल रहेका स–साना मूहानहरुबाट पानी भरेर ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको वडा नं ३ का वडाध्यक्ष सन्तबहादुर गुरुङले बताउनुभयो । “खानेपानीको समस्यासँगै जुध्दै आएका स्थानीयवासीको घर–घरमा धारा पुगेपछि अहिले निक्कै हर्षित छन्” उहाँले भन्नुभयो, “खानेपानीको जोहो गर्नमै दिन बिताउने अहिले घरमै २४सै घण्टा पानी आउन थालेपछि पानीको सदुपयोग गर्दै तरकारी तथा अन्य व्यवसायतर्फ उन्मुख भएका छन् ।”

गण्डकी प्रदेश सरकारको ‘एक घर, एक धारा’ नीतिअन्तर्गत खानेपानीको असुविधा भएका बस्तीमा खानेपानी योजना सञ्चालन भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख प्रेम डोटेलले बताउनुभयो । “पानीको स्रोत सुक्दै जाने तथा भासिँदै तल–तल झर्दै गएकाले पहाडका माथिल्लो भेगमा खानेपानीको समस्या हुने गरेको छ”, उहाँले भन्नुभयो, “खानेपानीको चरम अभाव भएका बस्तीमा बस्तीभन्दा तलबाट लिफ्टिङ गरेर खानेपानी वितरण गरिँदै आएको र जिल्लामा यस खालका धेरै योजना सञ्चालनमा रहेका छन् ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology