• Monday 3rd of August 2026

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ६४ प्रतिशत भौतिक प्रगति


  • गोकर्णेश्वर अनलाइन

निर्माणाधीन राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ६४ प्रतिशत काम सकिएको छ । कोरोना कहर तथा बन्दाबन्दीका बीचमा समेत विमानस्थललाई बन्द गरेर आयोजनाको काम भइरहेकामा हालसम्म ‘एयर साइड’ तथा ‘ल्याण्ड साइड’ दुवैतर्फ गरी समग्रमा सो प्रतिशत बराबरको काम सकिएको पोखरा क्षेत्रीय विमानस्थल आयोजना कार्यान्वयन एकाइका प्रमुख इञ्जीनियर विनेश मुनंकर्मीले बताउनुभयो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा महानगरपालिका कमिटीका अध्यक्ष दीपक पौडेल नेतृत्वको टोलीसँग बिहीबार भएको छलफलमा हालसम्मको प्रगतिका बारेमा जानकारी गराउँदै आयोेजना प्रमुख मुनंकर्मीले धावनमार्ग (रनवे), ट्याक्सीवे, एप्रोन, आइसोलेटेड पार्किङ तथा ह्याङ्गर एप्रोनको काम सम्पन्न भएको बताउनुभयो ।

त्यसैगरी आन्तरिक तथा बाह्य टर्मिनल भवन, एटिसी टावर, ह्याङ्गर भवनलगायतका विभिन्न १४ वटा भवनको सिभिल र कङ्क्रिट स्टिल संरचना तथा छाना छाउने काम सकिएको र फिनिसिङ र डेकोरेशनको काम बाँकी रहेको उहाँले जानकारी दिनुभयो । हाल चिनियाँ कामदार तथा कर्मचारी १८० तथा नेपाली ९० जना मजदुरले विमानस्थलको काम गरिरहेको र तोकिएको मिति सन् २०२१ जुलाई १० भित्रमा विमानस्थलको सम्पूर्ण काम सम्पन्न हुने प्रमुख मुनंकर्मीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोरोनाका कारण अङ्ग्रेजी नयाँ वर्षदेखि नै आयोजनाको काम प्रभावित भएकाले छ महिनाअघि नै विमानस्थलको काम सक्ने हाम्रो लक्ष्य पूरा नभए पनि अबको काम उपकरण जडानको रहेकाले सामग्री आउनेबित्तिकै काम शुरु गरेर तोकिएको समयभित्रमा काम सम्पन्न गर्न सकिन्छ भन्ने विश्वासमा छौँ ।”

आयोजना समयमै सम्पन्न गर्न प्रदेश तथा स्थानीय सरकारबाट केही काममा अझै सहयोग आवश्यक रहेको बताउँदै उहाँले राजनीतिक दलको समेत साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । नेकपा महानगर कमिटीका अध्यक्ष पौडेलले कोरोना महामारीका बेलामा समेत आयोजनाको काम सञ्चालन भएकामा आयोजना परिवार तथा निर्माण कम्पनीप्रति आभार व्यक्त गर्दै राष्ट्रिय गौरवको आयोजना निर्धारित मितिभित्रमै सम्पन्न गरेर नयाँ सन्देश दिनुपर्ने बताउनुभयो । आफ्नो पार्टीले आयोजना निर्माणका क्रममा आइपर्ने स्थानीयस्तरका हरेक समस्या समाधानका लागि प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology