• Monday 3rd of August 2026

अनुपयोगी बन्दै हुलाक सेवा


  • गोकर्णेश्वर अनलाइन

जिल्लामा रहेका हुलाक सेवा अनुपयोगी बन्दै गएका छन् । विगतमा उपयोगी र प्रभावकारीरूपले सञ्चार सेवा गर्दै आइरहेको हुलाकसेवा अहिले समयानुकूल र प्रविधिमैत्री हुन नसक्दा जिल्ला हुलाक कार्यालयसहित सबै हुलाकी कार्यालय अनुपयोगी बनेको हो ।
दोर्दी गाउँपालिकाका बयोबृद्धा सरस्वती गुरुङले भन्नुभयो, विगतमा हुलाकी दाइले घरघरमा चिठीपत्र ल्याउने गर्दथे, बिदेशमा रहेका लाहुरे छोराको खबर चिठीपत्रमार्फत मात्रै पाइने हुँदा हुलाक सेवाको प्रभावकारिता थियो । त्यतिबेला हुलाकी दाइ देखेपछि आफन्तहरूका चिठीपत्र आयो कि भनेर दौडेर लिन जाने गरेका थियौ तर अहिले प्रविधिको युगले विश्वभरको खबर एक मिनेटमै पाउन सकिने भएकाले हुलाकको अवश्यकता रहेन। त्यस्तै, सोही गाउँपालिका वडा नं. ३ का अर्का बृद्ध बुद्धिमान श्रेष्ठले कसैलाई केही खबर पठाउन परेपनि हुलाकबाटै चिठीपत्र पठाउने गरेका थियौँ । हुलाकी दाइ गाउँमा आएको देखेपछि विदेशमा गएका छोरा र आफन्तको खबर आयो कि भन्दै सोध्ने गर्दथ्यौ, खबरको माध्यम भनेकै चिठीपत्र थियो उहाँले भन्नुभयो ।

अहिलेका पुस्ता भने हुलाकबारे जानकार नै छैनन् । हुलाक भनेको सुनेको छु तर यसको काम के हो ? कुनै जानकारी नभएको बेँसीशहर नगरपालिका–८ की विद्यार्थी सिर्जना श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, अहिलेसम्म हुलाक सेवा हाम्रो आवश्यकतामा नपरेकाले त्यसबारे कुनै जानकारी भएन । प्रविधिको युगले गर्दा मजस्ता अधिकांश नयाँ पुस्ताहरूलाई हुलाक सेवाबारे जानकारी नहुनसक्ने उहाँको भनाइ थियो ।
सूचना र प्रविधिको युगसँगै हुलाकको ढाँचामा परिवर्तन हुन नसक्दा हुलाक टिकट बिक्री, सरकारी कामकाजका चिठी, पत्रपत्रिका आदाप्रदान, कहिलेकाही बैंकबाट ऋण लगेर भाका नाघेका ब्यक्तिहरूलाई चिठी पठाउनेजस्ता काममा मात्रै यसको प्रयोग हुने गरेको निमित्त हुलाक अधिकृत ज्ञानेन्द्र मरशिनीले बताउनुभयो । चिठीपत्र आदाप्रदान गर्ने चलन हराउँदै गएको र नयाँ नयाँ प्रविधि र सञ्चारका तरौतरिका अनुरुप हुलाकले सेवा दिन नसकेपछि यसको प्रभावकारिता र उपयोगिता घट्दै गएको पाइन्छ । केही वर्षअघिसम्म प्रविधिको विकास नभएकाले हुलाकसेवा प्रभाबकारी बनेपनि यहिले हुलाक सेवाभन्दा इन्टरनेटमार्फत म्यासेज, म्यासेन्जर, भइभरजस्ता प्रविधिको प्रयोगले दु्रत सेवा दिने भएकाले हुलाकसेवाको प्रभावकारिता घटदै गएको उहाँको भनाइ थियो ।
यतिबेला हुलाक सुनसान जस्तै बनेको छ । जिल्ला हुलाक कार्यालयमा सरकारी चिठी र केही ब्यक्तिको पार्सललगायत बढीमा १५÷२० वटा र कम्तिमा ९÷१० वटा चिठी दैनिक आउने गरेको छ । हुलाक कार्यालयमा खासै काम नहुदा हुलाकका कर्मचारीहरू फुर्सदिला बनेका छन् । जिल्लामा एकवटा जिल्ला हुलाक कार्यालय, १० वटा इलाका हुलाक कार्यालय र ५० वटा अतिरिक्त हुलाक कार्यालय गरी ६१ वटा हुलाक कार्यालयमा २७० कर्मचारी छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology