• Monday 3rd of August 2026

हेटौंडा औद्योगिक क्षेत्रका १११ वटै उद्योग सञ्चालनमा


  • गोकर्णेश्वर अनलाइन

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण लामो समय बन्द रहेको हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योगहरू सञ्चालनमा आएका छन् ।

औद्योगिक क्षेत्रमा रहेका १११ मध्ये सम्पूर्ण उद्योग सञ्चालनमा आएको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयले जनाएको छ ।

लकडाउनका कारण अत्यावश्यक उद्योगमा बिस्कुट, चाउचाउ, बेकरी, खानेपानी, दाना र दुग्ध पदार्थबाहेक अन्य उद्योग बन्द भएको थियो तर अहिले उद्योगहरु सञ्चालनमा आए पनि पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेको बताइएको छ । अत्यावश्यक खाद्यपदार्थ उद्योग ८० प्रतिशत क्षमतामा र अन्य रासायनिक, निर्माण सामग्री, मेशिनरी र प्लास्टिकलगायत उद्योग ५० प्रतिशत क्षमतामा सञ्चालनमा रहेको सो कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा करिब १० हजार ५०० जनाले रोजगारी पाएका छन् । “नयाँ–नयाँ उद्योगको स्थापनाको लागि केही उद्यमीले आवश्यक जग्गा, विद्युत्, पानी उपलब्ध गराई दिनका लागि निवेदन दिएका छन्”, हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रशासकीय अधिकृत राजेन्द्र श्रेष्ठले भन्नुभयो, “सोही निवेदनको आधारमा जग्गा उपलब्ध गराउन नेपाल औद्योगिक विकास निगम काठमाडौँंलाई स्वीकृत प्रदान गर्नका लागि पत्राचार गरिएको छ ।”

उहाँका अनुसार पुरानो बन्द भएका उद्योगको अनुमतिपत्र रद्द गरी अर्को उद्योग स्थापना गर्ने क्रममा सो उद्योगलाई स्वीकृित प्रदान गर्न पनि हेटौँंडा औद्योगिक क्षेत्रको तर्फबाट पत्राचार गरिसकेको छ ।

विसं २०२० मङ्सिर २० गते स्थापना भएको सो औद्योगिक क्षेत्रमा अहिले विभिन्न नयाँ उद्योग स्थापना गर्न करिब एक हजार ८८५ रोपनी जग्गाको छुट्टै व्यवस्थापन गरिएको बताइएको छ । सो औद्योगिक क्षेत्रमा निजी क्षेत्रको झन्डै रु पाँच अर्ब ५० करोड लगानी रहेको छ भने सरकारी लगानी रु ९० करोड रहेको कार्यालयले जनाएको छ ।

उक्त औद्योगिक क्षेत्रबाट गुणस्तरीय उत्पादित विद्युतीय सामग्री, खाद्यान्नलगायत अन्य सामग्री अन्तर्राष्ट्रिय बजारमा पु¥याइ विदेशी मुद्रा आर्जन गर्ने गरेको मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिनुभयो ।

सो औद्योगिक क्षेत्रमा उद्योग व्यवस्थापनले जग्गाको सम्झौता गरी १३ वटा आफ्नो प्रशासकीय भवनको निर्माणको कार्यलाई तीव्रता दिइएको आगामी दुई महिनाभित्र निर्माण कार्य सम्पन्न गरी उद्योग सञ्चालनको लागि तयारी भइरहेको मकवानपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष माधवप्रसाद न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology