• Monday 3rd of August 2026

व्यावसायिकता प्रहरीको पहिचान हो : मुख्यमन्त्री पौडेल


  • गोकर्णेश्वर अनलाइन

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले व्यावसायिकता, अनुशासन, इमान्दारिता तथा कर्तव्यपरायणता नै नेपाल प्रहरीको पहिचान भएको बताउनुभएको छ । ६५ औं प्रहरी दिवसका अवसरमा आज वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा आयोजित कार्यक्रममा उहाँले देशमा अस्थिरता निम्त्याउने तथा सामाजिक अमनचयनलाई खल्बल्याउन चाहने तत्वहरुको पहिचान गरी त्यसलाई निरुत्साहित गर्न सक्दा नागरिकमा विश्वासको वातावरण सिर्जना हुने बताउनुभयो ।

“लामो समयपश्चात देशमा राजनीतिक स्थिरता प्राप्त भएको छ । संविधान निर्माणसँंगै अधिकार प्राप्तिको आन्दोलन समापन भएपश्चात देश ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सङ्कल्प पूरा गर्ने मार्गचित्रमा अघि बढेको छ । राजनीतिक स्थिरता र दिगो शान्ति नै समृद्धिको पहिलो सर्त हो”, मुख्यमन्त्री पौडेलले भन्नुभयो । पौडेलले प्रहरी दिवसको विशेष अवसरमा देश र जनताको सुरक्षा, शान्ति तथा अमनचयनका लागि क्रियाशिल प्रहरीका सम्पूर्ण अधिकृत तथा जवानमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभयो । पौडेलले कर्तव्य पूरा गर्ने सिलसिलामा अमर हुनुभएका सहीदप्रति श्रदाञ्जली व्यक्त गर्दै उहाँहरुको योगदानको स्मरण गर्नुभयो ।

शान्त एवम् निर्भिक वातावरणमा मात्र समृद्धिले गति लिन सक्ने उल्लेख गर्दै अपराध नियन्त्रण र अनुसन्धानबाट समाजमा शान्ति, अमनचयन र सुरक्षाको प्रत्याभुति दिलाउन नेपाल प्रहरीले निर्वाह गरेको भूमिका आँफैमा प्रशंसनीय उहाँले बताउनुभयो । मुख्यमन्त्री पौडेलले विषम् परिस्थितिमा समेत प्रहरी सङ्गठनले निर्वाह गरेको चुनौतीपूर्ण जिम्मेवारीले समाजमा नेपाल प्रहरीप्रति आशा र भरोसा बढेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology