• Monday 3rd of August 2026

बुङ्मती मोहनी नखःपर्वमा क्षमापूजा मात्र


  • गोकर्णेश्वर अनलाइन

मुलुकमा दिनानुदिन बढिरहेको कोरोना महामारीका कारण ललितपुर महानगरपालिका वडा नं २२ बुङ्मतीमा मनाइने मोहनी नखः पर्वमा यस वर्ष क्षमापूजा मात्र गरिने भएको छ । हरेक वर्ष यहाँ नौरथाको नवमी, दशमी र एकादशीका दिन मनाइने मनकामनामाई र हनुमान जात्रामा यस वर्ष कोभिड सङ्क्रमणलाई ध्यानमा राखी क्षमापूजामा मात्र सीमित गर्न लागिएको हो ।
बुङ्मतीमा मनाइने मोहनी नखः पर्वमा आजुअजीका रुपमा मनकामनामाईको जात्रा गर्ने चलन रहेको रातो मच्छिन्द्रनाथ जात्रा ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “हामी नौरथामा यहाँ तीन दिन हरेक वर्ष जात्रा मनाउने गर्छाँै । नवमीका दिन मनकामनामाईलाई मन्दिरबाट झिकेर भैरव मन्दिरमा राख्ने, विजयादशमीको दिन हनुमान जात्रा गर्ने र एकादशीको दिन आजुअजी अर्थात् मान्यजनका प्रतीकका रुपमा मनकामनामाईको जात्रा गरिन्छ ।” एकादशीको दिन बेलुका मनाकामनामाई र हनुमानलाई मन्दिरमा भित्र्याएपछि मात्र जात्रा सकिने शाक्यले बताउनुभयो ।
विगत वर्षमा ती जात्रा गर्दा भव्यताका साथ भगवान्लाई खटमा राखेर टोलटोल डुलाउने चलन थियो । यस वर्ष भने कोरोनाका कारण क्षमापूजा मात्र गरेर सम्पन्न गरिने २२ नं वडाध्यक्ष अम्बिरराज शाक्यले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष हरेक वर्षझैँ फूलपातीका दिन गोरखा दरबारबाट हनुमानढोका हुँदै बुङ्मतीमा फूलपाती ल्याउने सम्भावना नभएको हुँदा स्रोहखुट्टेसम्म नाङ्चा प्याख, बाजागाजा र बलिसहित फूलपाती लिन जाने परम्परालाई पनि क्षमापूजामा सीमित गरिने छ, नवमीका दिन बुङ्मतीको मच्छिन्द्रबहालमा गरिने कोतपर्व र सोही दिन राति गरिने मुकुन्द पूजालगायत आन्तरिक रुपमा गरिने सम्पूर्ण नियमित पूजा र मनकमनामाईको जात्रा मच्छिन्द्रबहालमा मात्र सीमित गर्ने भएका छाँै ।”
यसैगरी दशमीका दिन बुङ्मतीमा सुवालले बोकेको बिन्दु पात्रलाई ‘झौ’अर्थात् भगवान थापिएको ढुङ्गा परिक्रमा गराई भारी पूजा गरेर मनकामनामाई र हनुमान जात्रा सम्पन्न गरिने छ । एकादशीका दिन पानेजुका सम्पूर्ण आन्तरिक पूजा सकिएपछि मनकामनामाईलाई खटमा विराजमान गराएर स्थानीय भत्तजनले पूजा गर्ने तथा गराउने व्यवस्था गरेर सोही दिनको पूजा सकिएपछि मनकामनामाईलाई मच्छिन्द्रबहालमा तीन पटक परिक्रमा गराई मन्दिरमा विराजमान गराउने निर्णय भएको शाक्यले जानकारी गराउनुभयो ।
ह्यग्रिब भैरवनाथ तथा ३२ पानेजु सङ्घ, ग्वा पाला गुरुजु, बाजा खल, राजनीतिक दलका प्रतिनिधि, वडाका प्रतिनिधि, प्रहरी प्रशासन तथा अन्य सरोकार पक्षको छलफलबाट सो दिन ती भगवान्का क्षमापूजा गर्ने निर्णय भएको वडाले सूचना मार्फत जनाएको छ ।
बुङ्मतीवासीले विजयादशमीका दिन कालो टीका, सिन्दूर र जमरा लगाएर दशैंँ मनाउने गर्छन् । गोरखाको मनकामनामाईलाई हरेक दिन पूजा गर्नुपुर्व पहिला काठमाडौंँतिर फकिएर पूजा गर्ने चलन रहेको सङ्घका अध्यक्ष शाक्यको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology