धरान, ४ कात्तिक(रासस): यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक सङ्क्रमितको मृत्यु भएको छ । इटहरीका ५६ वर्षीय पुरुषको सोमबार राति ९ः३० बजे उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले यही कात्तिक १ गते कोरोना पोजेटिभ भएपछि उनलाई कात्तिक २ गते अस्पताल भर्ना गरिएको जानकारी दिनुभयो । नियमानुसार शव व्यवस्थापन भइरहेको छ । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ६६ पुगेको छ ।
पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध रहेको कलेजले जनाएको छ ।
निमोनियासम्बन्धी उपचारका लागि असोज २९ गते अस्पतालमा भर्ना भएका वृद्धलाई कात्तिक ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उहाँको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमण पुष्टि भई कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उहाँको मृत्यु भएको हो ।
