• Monday 3rd of August 2026

लमजुङ कालिका मन्दिरमा महाकालीको मूर्ति स्थापना


  • गोकर्णेश्वर अनलाइन

लमजुङको बेँसीशहर नगरपालिका–३ मा अवस्थित लमजुङ कालिका मन्दिरमा महाकालीको मूर्ति स्थापना गरिएको छ ।

यस मन्दिरमा श्रदालु तथा भक्तजनले पूजा गर्ने क्रममा देखिनेखालको मूर्ति नभएको गुनासो गरेसँगै मन्दिरमा देखिने खालको ठूलो मूर्ति स्थापना गरिएको हो ।

घटस्थापनाको दिनमा काठमाडौँबाट मूर्ति ल्याएर स्थापना गर्नुअघि गर्नुपर्ने विधिवत प्रक्रिया पूरा गरेपछि शुभसाइत हेरेर बुधबार बिहान ११ बजेको समयमा विधिवतरूपमा पूजा आराधना गर्दै मूर्ति स्थापना गरिएको छ । मूर्ति स्थापना गर्नुअघि मूर्तिलाई शक्ति दिनका लागि विभिन्न प्रक्रिया पूरा गरेर स्थापना गरिएको मन्दिरका मूल पुरोहित माधवप्रसाद बरालले बताउनुभयो । उहाँका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापा र लमजुङ समाज काठमाडौँको विशेष सहयोगमा मूर्ति ल्याइएको थियो ।

मूर्ति स्थापना कार्यक्रममा बेँसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले यस्ता ऐतिहासिक तथा धार्मिकस्थलको संरक्षण, प्रवद्र्धन र व्यवस्थित गर्ने कार्यमा नगरपालिकाबाट सक्दो सहयोग हुँदै आएको र थप सहयोगका लागि प्रदेश तथा सङ्घीय सरकारसँग पहल गर्ने बताउनुभयो ।

सशस्त्र प्रहरीका पूर्वएआइजी रोहितचन्द्र थापाले ऐतिहासिक तथा धार्मिक स्थलहरुलाई व्यवस्थित गर्दै लैजानुपर्ने बताउँदै यहाँको आवश्यकता अनुरुप योजना निर्माणका लागि सम्बन्धित निकायमा बजेट माग गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, बेँसीशहर नगरपालिका उपप्रमुख लक्ष्मी अधिकारी, जनप्रतिनिधि, स्थानीयवासीलगायतको उपस्थिति थियो ।

मूर्ति स्थापनापश्चात् जिल्लावासी भक्तजन खुशी भएका छन् । यहाँ भक्तजनलाई स्थापना गरिएको महाकाली मूर्तिले पूजाआज गर्नका लागि सहज हुने भएको छ । लमजुङ दरबार परिसरमा कालिका मन्दिर छ । विसं १५५० मा छिमेकी जिल्ला कास्कीकोटका राजा कुलमण्डलका छोरा यश्ह्योबर्मा शाहलाई राजा बनाएदेखि यस मन्दिरमा पूजाआजा हुँदै आएको मन्दिरका मूल पुरोहित बरालको भनाइ छ । उहाँले भन्नुभयो, “यसभन्दा अघि उनका माइला दाई विसं १५४० मा राजा बनाइए पनि यहाँ पूजा भएको इतिहासमा भेटिएको छैन ।”

यश्ह्योब्रर्माको पालादेखि राजाको नाममा पूजाआजा हुँदै आएको भएपनि मुलुकमा गणतन्त्र स्थापनापछि राष्ट्रपति तथा जनताको नाममा पूजा हुँदै आएको पुजारीहरुको भनाइ छ । वर्षभरि नै पूजा हुने भए पनि विषेशगरी यस कालिका मन्दिरमा वर्षको दुईचोटी मुख्य पूजा हुने गर्दछ । वडादशैँको घटस्थापनादेखि दशमी अर्थात् दशैँमा १० दिन र चैतेदशैँको घटस्थापनादेखि अष्टमी अर्थात् आठ दिनसम्म पूजाआजा हुँदै आएको छ ।

यहाँ वर्षेनी दशैँमा भक्तजनको ठूलो भीड हुने गरे पनि यो वर्ष भने कोभिड–१९ का कारण घटस्थापनाबाट नित्यपूजा मात्र हुँदै आएको छ । त्यस्तै यस वर्ष सर्वसाधारणका लागि पूजाआजा बन्द गरिएको र सरकारी बलि मात्र हुने मन्दिरका मूल पुरोहित बरालले भन्नुभयो । उहाँका अनुसार यस वर्ष सरकारी पूजामात्र हुने र सरकारी बलि २६ बोका, छ राँगा, एक भेडा, एउटा सुँगुर दिने भएको छ ।

इतिहासमा उल्लेख भएअनुसार यस कालिका मन्दिरलाई शाहवंशीय राजाले आफ्ना कूलदेवताका रूपमा समेत पूजा गर्दै आएका थिए । यहाँ बाइसे सुसारे पुजारीहरु अर्थात् बाइस जातिका पुजारी यस मन्दिरमा रहेका छन् । यस कालिका तथा लमजुङ दरबार १६ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology