• Wednesday 29th of July 2026

न्यायाधीश नियुक्ती प्रकरणः डेमोक्रेटका सिनेट सदस्यद्वारा मतदान बहिस्कार


  • गोकर्णेश्वर अनलाइन

वासिङ्टन, ६ कात्तिक (रासस–एएनआई) –– अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित एमी कोने ब्यारेटका लागि हुने माथिल्लो सदन सिनेटको न्यायिक समितिमा हुने मतदान विपक्षी डेमोक्रेट सदस्यहरुले बहिस्कार गर्ने तयारी गरेका छन् ।

अमेरिकी अखबार दी हिलका अनुसार सिनेटमा अल्पमतका नेता चाल्र्स शुमर र समितिमा रहेका डेमोक्रेट सदस्यहरुले प्रकाशन गरेको संयुक्त वक्तव्यमा न्यायाधीश नियुक्ती प्रक्रिया शुरुदेखि नै लज्जाजनक रहेको उल्लेख छ ।

वक्तव्यमा राष्ट्रपतिको निर्वाचन हुनु १२ दिनअघि न्यायाधीश नियुक्त गर्ने प्रक्रिया र पद्धति नै गलत रहेको र यस्तो पद्धतिमा सहभागी भएर बैधानिकता दिने कार्य आफूहरुका लागि स्वीकार्य नरहेको उल्लेख छ ।

यसैबीच, डेमोक्रेट सदस्यहरुले बहिस्कार गरे पनि सोमबार ब्यारेटको मनोनयनका लागि हुने मतदानमा सहभागी हुने रिपब्लीकन पार्टीले निर्णय गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत सेप्टेम्बर २६ मा एमी कोने ब्यारेटलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि मनोनयन गर्नु भएको थियो ।

ब्यारेट सर्वोच्च अदालतका दक्षिणपन्थी धारको प्रतिनिधित्व गर्ने सर्वोच्च अदालतका पूर्व न्यायाधीश एन्टोनिन स्केलियाको क्लर्क भई काम गरेको अनुभव छ । ब्यारेट हाल संयुक्तराज्य मेरिकाको सातौं सर्किटको पुनरावेदन अदालतमा न्यायाधीश हुनुहुन्छ ।

उदारवादी भनेर चर्चित न्यायाधीश रुथ बाडर गिन्सबर्गको निधन भएपछि सर्वोच्च अदालतमा रिक्त भएको स्थानमा राष्ट्रपति ट्रम्पले ब्यारेटलाई मनोनयन गर्नु भएको हो । डेमोक्र्याट पार्टीले भने चुनाव अघि मनोनयन नगर्न अनुरोध गर्दै आएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology