• Monday 3rd of August 2026

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक योजना सार्वजनिक


  • गोकर्णेश्वर अनलाइन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आगामी शैक्षिक योजना सार्वजनिक गरेको छ । विजया दशमीको अवसरमा प्रतिष्ठानद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा आगामी शैक्षिक योजना सार्वजनिक गरिएको हो ।

कार्यक्रममा प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले सरकारबाट पाँच सिट स्नाकोत्तर तहको अध्यापनका लागि अनुमति प्राप्त भएको जानकारी दिनुभयो । प्रतिष्ठानले विश्वविद्यालयस्तरको मान्यता पाएको भन्दै उहाँले आगामी शैक्षिक सत्रमा एमबीबीएसको लागि समेत तयारी भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “२०७६ पुस १४ गते प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकबाट लक्षित कार्यक्रम एमडी जनरल प्राटिक्स एण्ड इमरजेन्सी मेडिसिन तीन, एमडी एनेस्थेसिया एण्ड क्रिटिकल केयर एक, एमडी अर्थोपेडिक्स एण्ड ट्रमा सर्जरीतर्फ एक सिटको कार्यक्रम अनुमति प्राप्त भएकाले अध्ययन अध्यापन अघि बढ्नेछ । व्याचलर अफ नर्सिङ, व्याचलर फार्मेसी, व्याचलर इन क्लिनिकल न्यूट्रिसनसमेत सञ्चालन गरिँदैछ ।”

सरकारले गत साउन ३० गते प्रतिष्ठानलाई स्नातकोत्तर तहको चिकित्सा शिक्षा अध्यापनको अनुमति दिएको थियो । प्रतिष्ठानले सार्वजनिक गरेको शैक्षिक योजनाको प्रतिवेदनअनुसार विसं २०७१ देखि २०७६ सम्म २६४ विद्यार्थी आरक्षित सिटमा भर्ना भएका थिए । हालसम्म ५१८ जनाले स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, डिप्लोमा फार्मेसी, ब्याचलर अफ पब्लिक हेल्थ, ब्याचलर अफ मिडवाइफरी अध्ययन गर्दै आएका छन् । जसमा स्टाफ नर्स २४० र हेल्थ असिस्टेन्ट १९२ जना छन् ।

रजिष्ट्रार विश्वराज काफ्लेले कोभिड–१९ मा प्रतिष्ठानले आफ्नो क्षमता प्रर्दशन गरेको जिकिर गर्नुभयो । उहाँले पिसिआर परीक्षणदेखि विभिन्न जिल्लामा चिकित्सक पठाएर गरेको योगदानमा सरकार र नागरिकको सहयोग, सद्भावले थप काम गर्ने हौसला मिलेको बताउनुभयो । रजिष्ट्रार काफ्लेले एमडीएमएस कार्यक्रमसहित एमबीबीएस पढाउने तयारी भइरहेको र सरकारले पूर्णरुपमा अगाडि बढाउने वचन दिएको बताउनुभयो ।

एमबीबीएसको तयारी
कर्णालीको स्वास्थ्य क्षेत्रमा अत्यधिक चर्चाका रुपमा रहेको एमबीबीएस कार्यक्रम पनि कर्णालीमा सञ्चालनमा आउने देखिएको छ । यो कार्यक्रम अघि बढाउन सरकारले मूल्याङ्कन समिति गठन गरेको छ । चिकित्सा शिक्षा आयोगले एक टोली गठन अगाडि बढाएको र टोली मूल्याङ्कनका लागि आउन तयार भएको प्रतिष्ठानले जनाएको छ ।

अहिले प्रतिष्ठानमा ६२ विशेषज्ञसहित एमडीएमएस र एमबीबीएसलगायत आवश्यक जनशक्ति तयारी भइरहेको छ । फ्याकल्टी अफ मेडिसिन, बेसिक साइन्स, पब्लिक हेल्थ र फार्मेसी गरी ५२ शिक्षकमा प्रोफेसर ११, एसोसियट प्रोफेसर आठ, एसिस्टेन्ट प्रोफेसर १८, लेक्चर १५ जना रहेको शिक्षाध्यक्ष थापाले बताउनुभयो ।

फ्याकल्टी अफ नर्सिङ एण्ड मिडवाइफरीतर्फ दुई एसोसियट प्रोफेसर, सात लेक्चर गरी नौ जनाको जनशक्ति रहेको उहाँले बताउनुभयो । सरकारले प्रतिष्ठानलाई ३०० बाट ५०० शय्याको बनाउने लक्ष्यका साथ रु सात करोड बजेट विनियोजन गरिसकेको छ ।

प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक एवं विशेषज्ञ डा सूर्यमान लिम्बूले सङ्कटको बेला यहाँका नागरिकको स्वास्थ्य सुरक्षामा अपेक्षित सेवा प्रवाह गरिएको बताउनुभयो । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईँले प्रतिष्ठान सङ्कटमा आशाको केन्द्र बनेको भन्दै थप स्तरोन्नतिका लागि सबैको साथ सहयोग चाहिएको बताउनुभयो ।

कर्णालीका नागरिकको स्वास्थ्य, आर्थिक तथा सामाजिक उत्थानमा ठूलो भूमिका खेलेको प्रतिष्ठानले पछिल्लो समयमा ब्याचलर अफ नर्सिङ साइन्सको पाठ्यक्रम जुम्लामै निर्माण गरेको छ ।

अनुसन्धानतर्फ पनि जोड
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य शिक्षा, सेवा र अनुसन्धान तीनखम्बे उद्देश्यलाई एकसाथ लैजान थालेको छ । प्रतिष्ठानले अहिले कर्णालीको स्वास्थ्य सेवा र शिक्षाको अनुसन्धानको अध्ययन शुरु गरेको छ । प्रतिष्ठानले आठ वर्ष अघि नै ‘एक डाक्टर, एक संस्था’ को अवधारणा अगाडि बढाइएको थियो ।

शैक्षिक कार्यक्रम सञ्चालन तथा आवासीय भवन निर्माणका लागि समुदायले ७२२ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार ३२२ रोपनी जग्गा प्रतिष्ठानको स्वामित्वमा आइसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology