• Monday 3rd of August 2026

झिलिङ्गा व्यवसायबाट मनग्य आम्दानी


  • गोकर्णेश्वर अनलाइन

झिलिङ्गा बेचेर यहाँको एक दम्पती मनग्य आम्दानी गर्न सफल भएको छ । लामो समयदेखि दमौलीमा होटल व्यवसाय गर्दै आएका जिल्लाको व्यास नगरपालिका–३ देउरालीनगरका तारादेवी र विष्णुकुमार श्रेष्ठ दम्पती झिलिङ्गा बेचेर अहिले राम्रो आम्दानी गर्न सफल भएका हो । अहिले यो व्यवसायबाट सबै खर्च कटाएर दैनिक रु एक हजार बचत हुने गरेको तारादेवीले बताउनुभयो ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लामो बन्दाबन्दीका कारण होटल बन्द भएपछि सो दम्पतीले झिलिङ्गा व्यवसाय शुरु गरेको हो । होटल बन्द भएपछि भाडा दिन पनि ऋण खोज्नुपर्ने अवस्था आएपछि सो व्यवसाय छाडेर झिलिङ्गा व्यवसाय शुरु गरिएको उहाँले बताउनुभयो ।

“माइजु केशीमाया श्रेष्ठबाट झिलिङ्गा बनाउन सिकेर गत असोज १६ गतेदेखि यो व्यवसाय शुरु गरेको छु”, तारादेवीले भन्नुभयो, “दैनिक रु तीन हजार बढीको झिलिङ्गा बिक्री हुँदा रु एक हजार मुनाफा हुने गरेको छ ।” उहाँका अनुसार बिक्रीको कुनै समस्या छैन । झिलिङ्गा घरबाटै ग्राहकले लैजाने गरेका छन् । चाडपर्वको समय भएकाले हाल झिलिङ्गाको माग अत्यधिक भइरहेको तारादेवीको भनाइ छ ।

होटल बन्द भएपछि त्यतिकै बेरोजगार बस्नुभन्दा यो व्यवसाय गरेर केही आम्दानी हुन्छ कि भनी झिलिङ्गा बनाएर बेच्न थालेको जानकारी दिँदै तारादे विष्णुकुमारले अहिले यसबाट घरखर्च राम्रोसँग चलेको बताउनुभयो । आफूले घरमा घरायसी प्रविधिबाट झिलिङ्गा बनाउने र स्थानीय बजारमा नै खपत गरेको उहाँको भनाइ छ । काम गर्न सके जे गरे पनि राम्रो गर्न सकिने र काम पाइएन भनेर भौँतारिएर हिँड्नुपर्ने अवस्था नरहेको उहाँ बताउनुहुन्छ । दशैं तिहारजस्ता चाडपर्वमा झिलिङ्गाको माग अत्यधिक हुने गरेको छ । यसका साथै विवाह, व्रतबन्ध, धार्मिक कार्य तथा खाजाका रुपमा पनि यसको प्रयोग बढ्न थालेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology