• Monday 3rd of August 2026

पाँच फरार प्रतिवादी पक्राउ


  • गोकर्णेश्वर अनलाइन

वनपैदावार सम्बन्धी मुद्दामा वारदातदेखि फरार रहेका तीन प्रतिवादीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–४ का २९ वर्षीय भरत कामी, ३६ वर्षीय जनकलाल चौधरी र २६ वर्षीय नरेश राना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनु भयो ।

कञ्चनपुर जिल्ला अदालतको गत वर्ष असार २३ गतेको फैसलाअनुसार तीनै जनालाई दोषी ठहर गर्दै एक÷एक महिना कैद र जनही रु १७ हजार ४०६ जरिवाना तोकिएको थियो । वारदात गरी विसं २०७५ कात्तिकदेखि तीनै जना फरार रहेका थिए ।

आवश्यक कारवाहीका लागि प्रहरीले तीनै जनालाई अदालतमा पेश गरेको जनाएको छ । यसैगरी लागु औषधसम्बन्धी मुद्दामा वारदातदेखि फरार रहेका लालझाडी गाउँपालिका–७ कञ्जका २१ वर्षीय हिरेन्द्र रानालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । भाग्दै गरेको अवस्थामा रानालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।

लागु औषध मुद्दामै अदालतबाट दोषी ठहर भएका कैलालीको धनगढी उपमहानगरपालिका–७ बस्ने २१ वर्षीय एकलव्य जोशीलाई समेत प्रहरीले राजपुर क्षेत्रबाट पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई कञ्चनपुर जिल्ला अदालतमा पेश गरिएको छ ।

छ लाखको चुरोट बरामद

सशस्त्र प्रहरीले बिहीबार राति सीमा क्षेत्रबाट रु छ लाख ९३ हजार मूल्य बराबरको १२ कार्टुन चुरोट बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३५ शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार भीमदत्त नगरपालिका–९ खल्लामछेट्टी टुँडिखेलको पश्चिमतिर महाकाली नदीको किनारमा नेपालबाट भन्सार छली गरी रातिको समयमा भारततर्फ पैठारी गरिरहेको अवस्थामा चुरोट १२ कार्टुन बरामद गरिएको छ ।

यसैगरी बेलौरी नगरपालिका–८ दिपघाट, भीमदत्त नगरपालिका–९ मटैनालगायत क्षेत्रबाट अवैधरूपमा भन्सार छली गरेर ल्याइएको माछा, बिना नम्बरको मोटरसाइकल, सुर्ती, बिँडीलगायत बरामद गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology