• Monday 3rd of August 2026

बागलुङ नगरका सडक धमाधम कालोपत्रे


  • गोकर्णेश्वर अनलाइन

बागलुङ नगरपालिकाका सडक धमाधम कालोपत्रे भइरहेका छन् । बागलुङ नगरपालिका–३ भलाटाकुरा–काभ्रे हुँदै कालिमाटी जाने सडकअन्र्तगत ६५० मिटर सडक कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । यस्तै बागलुङ बजारका मुख्य चोक तथा गल्लीमा सडक मर्मत तथा कालोपत्रे गर्ने कार्यले तिब्रता पाएको छ । यस्तै बलेवा पुग्ने सडकमा समेत कालोपत्रेको तयारी थालिएको छ भने केही स्थानमा कालोपत्रेका लागि पूर्वाधार निर्माण भईरहेको छ ।

स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्र्तगत भलाटाकुरा–काभ्रे हुँदै कालिमाटी जाने सडक खण्डको कालोपत्रेका लागि रु एक करोड बनियोजित भएको थियो । बिएनए निर्माण सेवाले निर्माण जिम्मा लिएको कालोपत्रेको काम अहिले अन्तिम चरणमा पुगेको बागलुङ नगरपालिकाका इञ्जिनियर मनोज शर्माले जानकारी दिनुभयो । “चाँडै काम सक्ने योजना छ, कोरोनाका कारण रोकिएको कालोपत्रे गर्ने काम अहिले मात्रै शुरु गरिएको थियो”, शर्माले भन्नुभयो, “बागलुङ बजारमा खाल्टाखुल्टी पुर्ने, मर्मत तथा कालोपत्रे गर्नेलगायत धेरै स्थानमा एक साथ कालोपत्रेको कार्य पनि चलिरहेको छ ।”

यस्तै बागलुङ नगरपालिका–१३ पैयुपाटास्थित जलकिनी घुम्टीबाट भैरव स्थान जाने सडकको समेत कालोपत्रेका लागि पूर्वाधार निर्माण थालिएको छ । यस वर्ष तीन हजार १६० मिटर कालोपत्रे गरिनेछ । यस सडकको कालोपत्रे पश्चात बागलुङको प्रसिद्ध धार्मीकस्थल भैरवस्थान जान सहज हुनेछ । उक्त सडक रु ६ करोड ९ लाखमा ठेक्का सम्झौता भएर काम अगाडि बढाइएको छ । उक्त सडकसमेत स्थानीय पूर्वाधार साझेदारीअन्र्तगत पर्दछ । जसमा सङ्घीय सरकारबाट ६० प्रतिशत र स्थानीय सरकारले ४० प्रतिशत बजेट खर्च गर्नुपर्ने शर्त छ ।

यस्तै बलेवा पुग्ने सडक मध्येको गलुवाबाट जलकिनी घुम्टी नजिकै सम्मको सडक समेत कालोपत्रे गर्न थालिएको नगरपालिकाले जनाएको छ । जिल्ला सदरमुकामभित्र रहेका खाल्टाखुल्टी तथा छोटा सडक कालोपत्रे गर्ने कार्यले समेत तिव्रता पाएको छ । बागलुङ बजारको अस्पताल रोड, धौलागिरी चोक, श्रीनर टोललगायत एक दर्जन स्थानमा कालोपत्रे भइरहेको छ ।

बागलुङ नगरपालिकाका सबै क्षेत्रलाई सहज सडक सञ्जालले जोड्ने योजनाअनुरुप कालोपत्रे गर्ने कार्यलाई अघि बढाइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । “हामी आए पछि केही सडकलाई कालोपत्रे गर्ने कार्य चलिरहेको छ, केही सडक कालोपत्रे भइसकेका छन्”, नगर प्रमुख पौडेलले भन्नुभयो, “नगरका १४ वटै वडा कार्यालयसम्म कालोपत्रे सडकको पहुँच पुग्ने गरी शुरुआत गरिएको छ, यसलाई क्रमशः विस्तार गर्दै लगिनेछ ।” गत वर्ष वडा नम्बर ६ बाट वडा नम्बर ७ पुग्ने एक किलोमिटर ८०० मिटर सडक कालोपत्रे गरिएको थियो भने बागलुङ बजारका छोटा सडकको झण्डै ३०० मिटर सडक कालोपत्रे गरिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology