• Saturday 25th of July 2026

वैकल्पिक विधिमा सबै विद्यार्थीलाई समेट्न गाह्रो


  • गोकर्णेश्वर अनलाइन

कोरोना सङ्क्रमणको जोखिमका बीच विद्यालयले शुरु गरेको शिक्षण सिकाइको वैकल्पिक विधिमा सबै विद्यार्थीलाई समेट्न समस्या भएको छ ।

विद्यालय पुगेर कक्षा कोठामा पढ्ने बानी परेका विद्यार्थी तोकिएको वैकल्पिक विधिको पहुँचमा पुग्न नसक्नुका साथै आवश्यक वातावरण पनि मिल्न नसक्दा सिकाइ विधिमा सबै विद्यार्थीलाई समेट्न समस्या देखिएको हो । अधिकांश विद्यालयले अनलाइन कक्षामार्फत शिक्षण सिकाइ गरिरहेकामा कतिपय विद्यालयले सामुदायिक शिक्षण सिकाइ (टोल शिक्षा) मार्फत पठनपाठन गरिरहेका छन् । केही विद्यालयले सीमित सङ्ख्यामा विद्यार्थीलाई विद्यालयमा बोलाएर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई शिक्षण सिकाइ गरिरहेका छन् ।

सरकारले जारी गरेको सिकाइ सहजीकरण निर्देशिकामा सिकाइका पाँचवटा वैकल्पिक विधि तोकिएको छ । वैकल्पिक विधिको पहुँचमा पुग्न नसक्ने विद्यार्थीको पढाइ सञ्चालन हुन नसकेपछि सम्बन्धित अभिभावक चिन्तित देखिनुभएको छ । धनगढीको एक बोर्डिङ स्कूलमा आफ्ना छोराछोरीलाई अध्ययन गराउँदै आउनुभएका स्थानीय योगेन्द्र चन्दले विद्यालयले शुरु गरेको अनलाइन कक्षाका लागि आफ्नो त्यति पहुँच नभएको र वातावरण पनि नमिलेकाले छोराछोरीको पढाइ रोकिएको बताउनुभयो ।

विद्यालय गएर पढ्ने वातावरण बनेपछि मात्र छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने योजना उहाँले बनाउनुभएको छ । उहाँले भन्नुभयो, “पढ्नेका लागि सबै विद्यालयको शिक्षण सिकाइ एकैखालका हुन्, बोर्डिङमा नै छोराछोरीलाई पढाउनुपर्छ भन्ने केही छैन ।”

धनगढी उपमहानगरपालिका कार्यालय शिक्षा शाखाका अधिकृत महादेव जोशीले सरकारले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ बमोजिम वैकल्पिक विधिको प्रयोग गरी विद्यालयमा पठनपाठन भइरहेको भए पनि सबै विद्यार्थी यो विधिमा नसमेटिएको बताउनुभयो । झण्डै ६० प्रतिशत छात्रछात्रा मात्र वैकल्पिक विधिमा सहभागी भइरहेको अनुमान गरिएको भन्दै जोशीले भन्नुभयो, “वैकल्पिक विधिमा सहभागी हुन नसकेका छात्रछात्राको पढाइ भने सञ्चालन हुनसकेको छैन ।”

वैकल्पिक विधिमार्फत पठनपाठन भइरहँदा सिकाइ त्यति प्रभावकारी नभइरहेको गुनासो पनि कतिपय अभिभावकले गर्न थालेका छन् । यद्यपि लामो समयदेखि विद्यालय जान नपाएका छात्रछात्रा भने आ–आफ्नै घरबाट वैकल्पिक विधि अपनाएर पढ्न पाउँदा भने खुशी देखिएका छन् । कोरोनाको जोखिमका कारण उनीहरुमा मनोवैज्ञानिक त्रास पनि उत्तिकै छ ।

कोरोना सङ्क्रमणको जोखिमका कारण विद्यालयका विद्यार्थीको पठनपाठन लामो समयदेखि अवरुद्ध हुँदा सरकारी सामुदायिक विद्यालयमा कार्यरत शिक्षकभन्दा निजी क्षेत्रका विद्यालयका शिक्षकमा कोरोनाको प्रभाव बढी परेको छ । निजी क्षेत्रका विद्यालयमा कार्यरत अधिकांश शिक्षक तलब पारिश्रमिक पाउन नसकेर प्रभावित भएका हुन् ।

स्थानीय शिक्षक जनक पाण्डेयले कोरोना सङ्क्रमणको जोखिमले लामो समयदेखि विद्यालय बन्द हुँदा निजी क्षेत्रका विद्यालय धरासायी बनेको बताउनुभयो । अहिलेको अवस्थामा वैकल्पिक विधि अपनाएर शिक्षण सिकाइ शुरु गर्दा पनि साविकमा पढ्दै आएका विद्यार्थीमध्ये ४० प्रतिशतले मात्र वैकल्पिक विधिमा सहभागी हुन पाएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology