• Monday 3rd of August 2026

कात्तिक कृष्णपक्षसँगै डोम समुदायको सक्रियता बढ्दै


  • गोकर्णेश्वर अनलाइन

दशैँ सकिएर कात्तिक कृष्णपक्ष शुरु भएसँगै पूर्वी मध्य तराईका डोम समुदायको सक्रियता बढेको छ । दीपावली पर्वको पक्ष शुरु भएको र त्यसलगत्तै छठ पर्व पर्ने भएपछि आफ्नो सीपका सामग्री बनाउन डोम समुदाय अहिले तन्मयसाथ काममा जुटेको हो । दीपावली र छठमा बाँसको चोया र कप्टेराबाट बुनिने सामानको माग हुने परम्पराले डोम समुदायलाई पर्वविशेषको कामको चटारो थपिएको हो ।

डोम बस्तीमा अहिले घरका सबै परिवारजन बाँस खोज्ने, चिर्ने, कप्टेरा र चोया बनाउने काममा जुटेका छन् । मुखमा रहेको दीपावली र छठ पर्वमा माग भएका बाँसको चोया र कप्टेराले बन्ने डाली, छिटी, नाङ्लो—चाल्नो, पङ्खा, कोनीयाँ र अन्य खेलौना तयार गर्न अहिले घरका सबै परिवारजन काम बाँडेर लाग्नुपरेको महोत्तरीको भङ्गाहा नगरपालिका–५ सिद्धपुरको डोम बस्तीका रत्ना मरिक बताउनुहुन्छ ।

सिद्धपुर बस्तीको मुखमै सानो खर÷परालले छाएको झुप्रो रत्नाको घरसंसार हो । दशैँ सिद्धिएर कात्तिक कृष्णपक्ष शुरु हुनासाथ रत्ना दिनरात नभनी चोया र कप्टेराबाट डाली, छिटी, नाङ्लो—चाल्नो, पङ्खा, कोनीयाँ र अन्य खेलौना बनाउन व्यस्त हुनुभएको छ । राति अबेरसम्म चोया र कप्टेरा चलाउँदा चलाउँदै निदाउने उहाँ बिहान आँखा उघ्रनासाथ त्यही चोया र कप्टेरामा हात पुर्याउनुहुन्छ ।

“के गरौँ हजुर…? अरु बेला त बनिबुतो गरेर दिन गुजारौँला । यो (तिहार, छठ) त वर्षभरि खर्च गर्ने नगद जोहोको बेला हो”, रत्ना भन्नुहुन्छ, “घरका सबैले काम बाँडेका छौँ, छठसम्म मागअनुसारको सामग्री दिन भ्याइनभ्याई नै पर्छ ।”

चन्द्रमास गणनाले कात्तिक कृष्णपक्ष टेक्नासाथै रत्नाजस्तै महोत्तरीसहितका मध्यपूर्वी तराईका अति विपन्न डोम समुदायको अनुहारमा खुशी झल्कन्छ । यो पक्षको अन्तिममा पर्ने दीपावली र त्यसलगत्तै कात्तिक शुक्लपक्षमा शुरु हुने छठ पर्वमा आफ्नो सीपले बजार पाउने भएपछि यी पर्व डोमका लागि खुशी र उमङ्गको बन्ने गरेका हुन् ।

बाँसका चोया र कप्टेराबाट विभिन्न प्रकारका समान (चोया र कप्टेराबाट बन्ने राखनधरनका समान) बनाउने डोम समुदायको पुख्र्यौली पेशा हो । प्रत्येक वर्षको दीपावली र छठमा पूजाआराधनाका लागि नयाँ बुनिएको बाँसका सामग्री अनिवार्य मानिने मैथिल परम्पराले मध्य पूर्वी तराईमा यो बेला डोम समुदायको सीपको माग बढ्ने गरेको छ ।

दीपावली र छठ नजिकिँदै आउँदा यहाँका अति विपन्न डोम जातिको बसोबास रहेको दलित बस्तीमा राम्रो कमाइ हुने आसमै खुशी छाउने गरेको छ । यहाँ दीपावली र छठमा बाँसको चोया र कप्टेरोले बन्ने डाली, छिटी, नाङ्लो—चाल्नो, कोनींयाँ र पङ्खासहितका समान पूजाआराधनामै जोडिने भएकाले यस्ता समान बनाउने पुख्र्यौली व्यवसाय अँगाल्दै आएका डोम बस्तीमा अहिले बाँससँगको खास व्यस्तता बढेको हो ।

डोम बस्तीमा अहिले बाँस खोजेर ल्याउने, फट्याउने, कप्टेरा र चोया काढ्ने र मागअनुसारका समान बुन्ने काममा परिवारका सबै सदस्य व्यस्त देखिन्छन् । घरमुलीदेखि पाँच÷सात वर्ष उमेर कटेका नानीहरु पनि काममा व्यस्त भएका देखिँदो छ । अन्य बेला अभाव नै अभावमा बित्ने डोम समुदायमा मिठोमसिनो खाने, राम्रा लुगा लाउने र ससाना नानीहरुको रहर पूरा गर्ने भाखा पनि घरमुलीले दीपावली र छठ जोडेर राख्ने गर्छन् ।

“के गर्नु हजुर, वर्षभरिको नगद खर्चको जोहो गर्ने बेला यही हो, अहिले चुके वर्षभरि नगद हेर्न पाँइदैन”, बर्दिवास नगरपालिका–१ की रिता मरिक भन्नुहुन्छ, “ससाना नानीहरुको रहर र चाहना हामीले दीपावली र छठ पर्वमा पूरा गर्ने आस साँचेका हुन्छौं ।” अन्य बेला आफ्ना सीपको खासै माग नहुने हुँदा वर्षभरिको नगद खर्चको जोहो पनि यसै बेला गर्न पर्ने दवाब हुने गरेको रिताको भनाइ छ ।

दीपावली नजिकिएर बाबु÷आमा काममा व्यस्त भएसँगै समान बनाइदिन भन्न आउने ग्राहक बाक्लिएपछि ससाना नानीको फर्माइस (माग) पनि बाक्लिने गरेको छ । नानीहरुबाट दिनदिनै थपिने फर्माइसले जाँगर बढाउन ‘टनिक’ को काम गर्ने गरेको अभिभावक बताउँछन् ।

शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता आफ्नो हक भन्ने कुराबारे पूरै बेखबर रहेका डोमहरु ससाना पराले झोपडीमा पुस्तौँंदेखि गुजारा चलाइरहेका छन् । चरम गरिबी र अशिक्षाले जकडिएको डोम समुदायका लागि ठूलाबडाको मृत्यु हुँदा अग्निसंस्कारका लागि आगो बेचेर प्राप्त हुने आम्दानी, श्मसानघाटमा फालिएका बाँसका घोचा सङ्कलन गरेर बनाइएका चोयाका समान बेचेर प्राप्त हुने आम्दानी र सुँगुर पाल्ने पुख्र्यौली पेसाबाट प्राप्त हुने आम्दानी नै जीवन गुजाराको सहारा रहँदै आएको छ । तिहार र छठचाहिँ आपूmहरुले पनि निष्ठापूर्वक मनाउने भएकाले यी पर्व प्रयोजनका सामग्री नयाँ बाँस किनेर पवित्र मनले बनाइने गरिएको डोमहरु बताउँछन् ।

विसं २०६८ को जनगणनाअनुसार जिल्लामा एक हजार ५० मात्र जनसङ्ख्या रहेको डोम जाति जिल्लाका प्रत्येकजसो बस्तीको पुछारमा छुट्टै बस्तीजस्तो देखिने गरी एक÷दुई घरमा बसोबास गरेका भेटिन्छन् । यद्यपि अहिले यो सङ्ख्या तीन हजार नाघेको अनुमान छ । मधेसमा अत्यन्त पछि परेका जाति समुदायभित्रका डोमको नयाँ लुगा किन्ने, आफन्तकहाँ भेट्न कोसेली बनाउने, ससाना नानीको रहर पूरा गरेर वर्षको पछिसम्म नुनतेलको जोहोसमेत तिहार र छठको कमाइबाट हुने गरेको छ ।

दीपावली र छठ नजिकिँदै गर्दा महोत्तरीका गाउँ÷नगर बस्तीका हटियामा बाँसको चोया र कप्टेरोले बनेका समानले भरिभराउ देखिन्छन् । पर्वका लागि यस्ता समान किन्दा धेरै मोलाइ ग्राहकले पनि नगर्ने र आपूmहरुले पनि मनासिव दाम भन्ने गरेकाले बिक्रीमा कुनै किचला हुने नगरेको डोम समुदायका पाका उमेरका अगुवा बताउँछन् ।
मुलुकमा अवसरबाट पछि परेका सीमान्तकृत जाति समुदाय, गरिब र दलितहरुको उत्थानका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको बजेट भाषण र सम्बोधनमा सुनिने गरिए पनि ती कार्यक्रम भने जिल्लाका डोम जातिको बस्तीमा नपुगेको सामाजिक अभियानकर्मी टिप्पणी छ । सरकारी कार्यक्रमको प्रभावकारी अनुगमन नहुँदा अवसरबाट पछि पारिएका डोमसहितका जाति समुदायको उत्थानको काम हुन नसकेको भङ्गाहा–४ का सामाजिक, राजनीतिक कार्यकत्र्ता हिरादेवी दाहाल बताउनुहुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology