• Monday 3rd of August 2026

४४० घरका छानामा जस्तापाता


  • गोकर्णेश्वर अनलाइन

कपिलवस्तुको शिवराज नगरपालिकाले घरमा खरको छानो हटाउने अभियान थालेको छ । आर्थिक वर्ष २०७६। ७७ मा नगरका ४४० खरको छानो हटाएर जस्तापाता वितरण गरिएको छ ।
नगरपालिकाले खरको छानो भएका घरधुरीलाई जस्तापाता अनुदानमा दिएपछि घरघरमा जस्तापाता लगाउने कार्य भइरहेकोे छ । लुम्बिनी प्रदेश र नगरपालिकाको रु एक करोड ९० लाखको लागतमा जस्तापाता खरीद गरी वितरण गरिएको नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले बताउनुभयो ।
नगरका अतिविपन्न, असहाय, एकल महिला र अपांगता भएका नागरिकका घरमा रहेका खरको छानो हटाएर जस्तापाता प्रदान गरिएको छ । ‘प्रत्येक वर्ष खरको छानो हटाउने काम निरन्तर हुने छ, दुई वर्षभित्र नगरलाई पूर्ण खरको छानोरहित बनाउने योजना छ’, अधिकारीले भन्नुभयो ‘यस वर्ष पनि खरको छानो हटाउने काम भइरहन्छ ।’
नगरको दक्षिणी क्षेत्रका अधिकांश घरमा फुसको छानो रहेकाले आगलागीको जोखिम बढी रहेको उपप्रमुख शिवकुमारी थारुले बताउनुभयो । वर्षेनी आगलागीका कारण धेरै जनधनको क्षति हुने गरेकाले खरको छानोमुक्त बनाउने योजना अघि सारिएको जनाइएको छ ।
शिवराज– ३ का वडाध्यक्ष टेकलाल सापकोटाले वडामा ४० घरधुरी छनोट गरेर जस्तापाता वितरण गर्ने काम भइरहेको बताउनुभयो । ‘कतिपयले लगेर लगाइसक्नुभयो, कतिपय लगाउने तयारीमा हुनुहुन्छ” सापकोटाले भन्नुभयो ‘न्यून आय भएका विपन्न समुदायका नागरिकहरुलाई छनोट गरिएको छ ।’

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology