• Monday 3rd of August 2026

कोरोना सङ्क्रमितका लागि १०४ श्ययामा अक्सिजन पाइप जडान


  • गोकर्णेश्वर अनलाइन

कोभिड– १९ का कारण श्वासप्रश्वासमा समस्या देखिएका बिरामीको उपचारका लागि पोखरा महानगरपालिकाले दुई अस्पतालमा अक्सिजन पाइप जडान गर्ने भएको छ ।

पोखरामा दिनप्रतिदिन सङ्क्रमितको सङ्ख्या बढेसँगै जटिल समस्या भएकाको सहज उपचारका लागि महानगरले पूर्वाधार र कर्मचारी व्यवस्थापनका लागि रु १९ लाख बजेट छुट्याएर काम अगाडि बढाएको महानगरमा उपप्रमुख मञ्जु गुरुङले जानकारी दिनुभयो । “हामीले तत्कालको विषम् अवस्थालाई ध्यान दिएर १०४ श्ययाका लागि अक्सिजन पाइप जडान गरेर सङ्क्रमितको उपचारका लागि प्रयास थालेका हौँ”, उहाँले भन्नुभयो । उपप्रमुख गुरुङका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७० श्यया र लेखनाथस्थित सङ्क्रामक रोग अस्पतालमा ३४ श्ययाका लागि अक्सिजन पाइप जडान गर्ने काम भइरहेको छ ।

उहाँले अक्सिजन पाइप जडानका लागि रु १० लाख र सो सञ्चालनका लागि आवश्यक दक्षजनशक्ति परिपूर्ति गर्न तत्काल रु नौ लाख गरी कूल रु १९ लाख बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले अक्सिजनपाइप जडानले कोरोना सङ्क्रमितको उपचारमा सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्क्रमितको सङ्ख्या बढिरहेको छ, उपचारका लागि आवश्यक पूर्वाधारको अभाव पनि उत्तिकै रहेको छ, कोरोनाका कारण श्वासप्रश्वासमा समस्या भएका बिरामीको तत्काल उपचारका लागि अक्सिजन पाइपले निकै सहज हुनेछ ।” महानगरको सहयोगमा अहिले ७४ श्ययामा अक्सिजन पाइप जडान गर्ने कार्य भइरहेको र यसै हप्ता तयार हुने पनि उहाँले बताउनुभयो ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार ७४० पुगेको छ । तीमध्ये चार हजार ३३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ८० जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology