• Monday 3rd of August 2026

पुरानो तुइनको ठाउँमा झोलुङ्गे पुल निर्माण गरिने : मन्त्री फुयाँल


  • गोकर्णेश्वर अनलाइन

वाग्मती प्रदेशको भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले पुरानो तुइनको ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने प्रदेश सरकारको प्रतिबद्धता रहेको बताउनुभएको छ ।

उहाँले आज रासससँग कुराकानी गर्दै प्रदेशका १३ वटै जिल्लामा रहेको पुरानो तुइनलाई विस्थापित गरी उक्त स्थानमा चालू आर्थिकभित्र नै झोलुङ्गे पुल निर्माण गर्ने सरकारको प्रतिबद्धता रहेको बताउनुभएको हो ।

“यसका लागि भौतिक पूर्वाधार मन्त्रालयले प्राविधिक टोली जिल्ला÷जिल्लामा खटाइसकेको र प्रतिवेदन आउन बाँकी रहेको छ”, उहाँले भन्नुभयो, “प्राविधिक प्रतिवेदन आउनसाथ सोही अनुरुप आवश्यक कार्य अगाडि बढाइनेछ ।” मन्त्री फुयाँलले उपत्यकाबाहेक १० जिल्लाको १६ वटा गाउँपालिकामा रहेको खरको छानालाई विस्थापन गरी जस्तापाताको छानो निर्माण गर्ने योजना रहेको पनि जानकारी दिनुभयो ।

प्रदेशको आठ जिल्लामा परम्परागतरुपमा रहेको २४ वटा राजकुलोको मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन सम्बन्धित प्राविधिकले निर्माण कार्य शुरु गरिसकेको बताउँदै उहाँले चालू आर्थिक वर्षभित्र १३ वटा जिल्लाको विभिन्न दुर्गम भेगका जनतालाई सुविधा उपलब्ध गराउने गरी करिब १०० वटा नयाँ पक्की पुलको निर्माणका लागि सम्बन्धित कार्यालयलाई बजेट उपलब्ध गराइसकेको र ती क्षेत्रमा पुलको निर्माण कार्य पनि भइरहेको जानकारी दिनुभयो । निर्माण भइरहेको त्यस्ता पुलको अनुगमानका लागि मन्त्रालयबाट मंसिरको पहिलो हप्तामा प्राविधिकसहित टोली पठाइने उहाँले बताउनुभयो ।

“प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत रु तीन÷तीन करोड अनुदान रकम सम्बन्धित निर्वाचन क्षेत्रका प्रदेश सभा सदस्यमार्फत उपलब्ध गराइसकिएको छ”, मन्त्री फुयाँलले भन्नुभयो, “वाग्मती प्रदेशको स्थायी राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग आगामी चार वर्षभित्र सङ्घीय र प्रदेश सरकारको संयुक्त लगानीमा निर्माण कार्य सम्पन्न गर्नका लागि बोलपत्र आह्वान गरिसकेको छ ।” आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निर्माण व्यवसायीलाई ठेक्का सम्झौता गरिने पनि उहाँले बताउनुभयो ।

वाग्मती प्रदेश सरकारले प्रदेशको १३ वटै जिल्लामा यसै आर्थिक वर्षभित्रै सम्पन्न गर्नेगरी राष्ट्रिय गौरवको आयोजनाको छनोट गरी निर्माण गर्ने, विभिन्न राजमार्गको सडक विस्तार र कालोपत्र गर्ने तथा कृषि उत्पादनमा वृद्धि र सिँचाइको व्यवस्थापन र नयाँ औद्योगिक क्षेत्र विस्तारका लागि आवश्यक प्रक्रिया पूरा गरी निर्माण कार्य प्रारम्भ भइसकेको पनि उहाँ स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology