• Monday 3rd of August 2026

कांग्रेस नेताहरुद्वारा सांसद केसीको निधनप्रति दुःख व्यक्त


  • गोकर्णेश्वर अनलाइन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य, सङ्घीय सांसद एवं उद्योगी सूर्यबहादुर केसीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । विशिष्ट समाजसेवीको समेत पहिचान बनाउनुभएका केसीको गए राति पोखरास्थित आफ्नै निवासमा निधन भएको हो ।

सभापति देउवाले सामाजिक सञ्जालमार्फत उहाँको निधनको खबरले आफूलाई अत्यन्तै दुःख लागेको उल्लेख गर्दै केसीको निधनले कांग्रेसले एक अग्रज नेता र देशले एक राजनीतिकर्मी मात्र नभई सफल व्यवसायी, समाजसेवी र कर्मशील व्यक्तित्व गुमाएको बताउनुभएको छ । सभापति देउवाले दुःखको यस घडीमा उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । यसैगरी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सांसद एवं पार्टीका आमन्त्रित केन्द्रीय सदस्य केसीको निधनको खबरले अत्यन्तै दुःख लागेको उल्लेख गर्नुभएको छ ।

निष्ठा, लगन र अनवरत कर्मले केसीको व्यक्तित्व अग्लिएको उल्लेख गर्दै नेता पौडेलले कास्केली जनताको सुख दुःखमा उहाँको साथ र सहयोग रहेको बताउनुभएको छ । नेता पौडेलले स्व केसीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । कांग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले पनि पार्टीका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य केसीको निधनको खबरले मर्माहत बनाएको उल्लेख गर्दै शोकको यस घडीमा केसी परिवारप्रति समवेदना तथा दिवङ्गत आत्माप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology