• Sunday 2nd of August 2026

गोकर्णेश्वर महादेव मन्दिरको छानाको पातामा सुन लेपन तीन वर्षदेखि अलपत्र


  • गोकर्णेश्वर अनलाइन

राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरको छानाको पातामा सुन लेपन गर्न शुरु भएको काम तीन वर्षदेखि अलपत्र छ ।
विसं २०७४ मा पित्तलको पातामा सुन लेपन गरी छाना फेर्न सहयोग जुटाउने उद्देश्यले महायज्ञ गरी शुरु भएको काम अझै पूरा हुन सकेको छैन । विसं २०७४ फागुन २३ देखि चैत दुई गतेसम्म यही प्रयोजनका लागि मन्दिर प्राङ्गणमा महायज्ञ गरिएको थियो । महायज्ञबाट खर्च कटाएर रु तीन करोड बचेको थियो । झिँगटीको छानाबाट पानी चुहिएर ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण मन्दिरका काष्ठकला, मन्दिरको गाह्रो एवं मूर्तिमा समेत क्षति हुन थालेपछि छाना फेर्ने अभियान शुरु भएको हो ।
प्यागोडा शैलीको तीनतले मन्दिरको माथिल्लो दुई तलाको छाना फेरी सकिएको छ । माथिका दुई तला सानो छ । सबैभन्दा तलको फराकिलो छाना आधा फेरेर एक वर्षअघिदेखि अलपत्र छ । काम अघि बढ्न सकेको छैन । गोकर्णेश्वर नगरपालिका–४ को अध्यक्षसमेत रहनुभएका मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष श्रीकुमार श्रेष्ठ बजेट अभाव भएर काम रोकिएको स्वीकार गर्नुहुन्छ ।
“हालसम्म पौने नौ किलो सुन छानामा लेपन भइसकेको छ, अझै करिब सात किलो सुन लाग्ने अनुमान गरिएको छ, पहिलो चरणमा जम्मा २१ किलो सुन लाग्ने प्रारम्भिक अनुमान गरिए पनि करिब १६ किलो सुनले पुग्ने देखिएको छ, त्यसकै लागि पनि सहयोग जुटाउन सकिएको छैन”, उहाँले भन्नुभयो ।
अलपत्र छानाको काम अघि बढाउन सहयोग नजुटेपछि चालू आर्थिक वर्षका लािग नगरपालिकाले रु तीन करोड विनियोजन गरेको छ । नगरपालिकाले तीन चरणमा गरेर सुन किन्न लागेको जनाइएको छ । नगरपालिकाले आव २०७५÷७६ मा पनि रु एक करोड बजेट विनियोजन गरेको थियो । आव २०७६÷७७ मा विनियोजन गरेको रु तीन करोड परिषद् बसेन भन्ने बहानामा एक पैसा पनि नआएको गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वाङ्गीण विकास समितिका अध्यक्ष कोमलबहादुर विष्ट बताउनुहुन्छ । महायज्ञकै क्रममा २२ तोला सुन सहयोग स्वरुप सङ्कलन भएको थियो । महायज्ञमै प्राप्त भाँडा बेचेर रु ३९ लाख आम्दानी भएको पनि समितिले जनाएको छ ।
विसं २०७५ असार २२ गते नै झल्लर, कुटा, ख्वापालगायत मन्दिरका संरचना बनाउन शुरु गरिएको थियो । त्यसै वर्ष पुसबाट सुनको लेपन गरिएको छाना राख्न नै शुरु भएको थियो । काम शुरु भएको तीन वर्ष हुन लाग्दासमेत सुनको लेपन गरिएको पाता राख्न भत्काइएको छाना अलपत्र छ । कोरोनाको महामारी शुरु भएदेखि नै काम अघि बढ्न सकेको छैन । कोरोनाकै कारण नगरपालिकाको बजेट नआउँदा समेत काम प्रभावित भएको हो ।
मुख्य मन्दिरहरुमा सुनको छाना, मूर्तिलगायत संरचना स्वर्णजडित बनाउने लहर नै चलेको देखिन्छ । मन्दिर क्षेत्रमा सुनका संरचना बनाइए पनि त्यसको संरक्षण चुनौतीपूर्ण बन्दै गएको पुरातत्व विभागका अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology