• Sunday 2nd of August 2026

चीनको कम्पनीद्वारा भरतपुर महानगरलाई रु नौ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग


  • गोकर्णेश्वर अनलाइन

भरतपुर महानगरपालिकालाई मित्रराष्ट्र चीनबाट कोभिड–१९ को उपचारका लागि स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । चीनको सिपिङ सिटी फ्रि ट्रेड कम्प्रिहेन्सिभ सर्भिसले भरतपुर महानगरलाई सात हजार ६०० डलर ( रु नौ लाख) बराबरको कोभिड–१९ को उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

मेडिकल प्रोटेक्टिभ मास्कलगायत आवश्यक स्वास्थ्य सामग्री चीनको सिपिङ सिटी सर्भिसले उपलव्ध गराएको भरतपुर महानगरपालिकाले जनाएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकालाई कोभिड–१९ विरुद्ध लड्न आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामग्री चीनबाट प्राप्त भएको जानकारी गराउनुभयो । महानगर प्रमुख दाहालले प्राप्त स्वास्थ्य सामग्री आवश्यकताअनुसार महानगरअन्तर्गत रहेका स्वास्थ्य संस्थालाई वितरण गरिने बताउनुभयो । उहाँले यसअघि पनि चीनबाट विभिन्न स्वास्थ्य सामग्री आएको जानकारी गराउँदै भन्नुभयो, “कोभिडको महामारीको बेला स्वास्थ्य सामग्री सहयोगले जनस्तरमै सुमधुर सम्बन्ध कायम भएको छ ।” भरतपुर महानगरपालिका कोराना–१९ विरुद्ध लडिरहेको बताउँदै प्रमुख दाहालले पिसिआर प्रयोगशाला सञ्चालन, क्वारेन्टिनको निर्माण र सञ्चालन साथै हालै सञ्चालनमा ल्याएको बागेश्वरी आइसोलेशन तथा राहत वितरणलगायत नगरवासीलाई सूचीत गर्दै उच्च सुरक्षा सतर्कताका साथ विकास निर्माणका काम पनि सञ्चालन गरिरहेको बताउनुभयो ।

भरतपुर महानगर र चीनको गुर्मु सिटीबीच भगिनी सम्बन्ध कायम भएको छ । यसअघि गुर्मु सिटीले यस कोभिड–१९ रोगको रोकथाम र नियन्त्रणका लागि प्रदान गरेको स्वास्थ्य सामग्री स्वास्थ्यकर्मी, चिकित्सक र अघिल्लो घेरामा खटिने कर्मचारीलाई प्रदान गरिएको महानगरले जनाएको छ ।

यसअघि मित्र राष्ट्र चीनको गुर्मु सिटीले भरतपुर महानगरपालिकालाई रु १७ लाख बराबरको सर्जीकल मास्क १० हजार थान, एन ९५ मास्क ९ सय ६० थान, पिपिई १ सय २० थान र थर्मल गन १ सय २० थान लगायतका सामाग्रीहरु प्रदान गरेको थियो । भरतपुर महानगरपालिकाका प्रेस सल्लाहाकार सुरेशचन्द्र अधिकारीको नेतृत्वामा गएको प्रतिनिधी मण्डललाई गुर्मु सिटीका प्रतिनिधीहरु च्याङ्ग जिउ लिई, छिङ बिङ्ग, ह्याङ्ग सिङ्ग हान लगायतका प्रतिनिधी मण्डलले नेपाल–चीन सीमाना तातोपानीको मितेरी पुलमा ती सामाग्री प्रदान गरेको थियो ।

यसैगरी मित्रराष्ट्र चीनको तिब्बत प्रान्तमा रहेको सिगात्से शहरले पनि यसअघि भरतपुर महानगरपालिकालाई रु २७ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । तिब्बत प्रान्तमा रहेको सिगात्से सिटीले यसअघि एन ९५ मास्क एक हजार थान, सर्जिकल मास्क ५० हजार थान, आरडिटी किट ८०० थान, पिपिई १०० थान, मेडिकल फेस सिल्ड एक हजार थान र सर्जिकल ग्लोभ्स चार हजार थानलगायत स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology