• Sunday 2nd of August 2026

मोटरसाइकल चोरी गर्ने सात पक्राउ


  • गोकर्णेश्वर अनलाइन

प्रहरीले जिल्लाका विभिन्न ठाउँमा मोटरसाइकल चोरी गर्ने र खरिद गर्ने सात जनालाई पक्राउ गरेको छ । मोटरसाइकल चोरी भएको उजुरी परेपछि प्रहरीले सक्रियता बढाउँदा चोरीमा संलग्न र चोरीका मोटरसाइकल खरिद गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा बाराको करैयामाई नगरपालिका–५ घर भई हाल खैरहनी नगरपालिका–९ बस्ने २८ वर्षीय विजय चौधरी, सोही ठाउँ घर भई भरतपुर महानगरपालिका–३ बस्ने १९ वर्षीय राकेश चौधरी र बाराको कोल्हवी नगरपालिका–७ का २४ वर्षीय महेश चौधरी रहेका छन् । यस्तै मोटरसाइकल चोरी गर्नेमा भरतपुर महानगरपालिका–११ का २६ वर्षीय दिनेश गुरुङ र २५ वर्षीय मनोज दराई रहेका छन् ।

चोरीका मोटरसाइकल खरिद गर्ने खैरहनी नगरपालिका–१२ का २४ वर्षीय समीर चौधरी र २८ वर्षीय अमृत चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न समयमा भाटभटेनी सुपर स्टोर अगाडि, कटहर चोक, नहरचोक, पावरहाउस चोक, विक्रममार्ग लगायतका स्थानबाट मोटरसाइकल चोरी भएका घटनाको अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका व्यक्तिहरुबाट मोटरसाइकल, चोरी गर्न प्रयोग गरिने औजारहरु समेत बरामद गरिएको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिता, २०७४ अनुसार उनीहरुलाई कानुनी कारवाही हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology