• Sunday 2nd of August 2026

चाडपर्वलाई लक्षित गर्दै काभ्रेपलाञ्चोकमा अनुगमन बढाइयो


  • गोकर्णेश्वर अनलाइन

तिहार पर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ ।

काभ्रेपलाञ्चोकस्थित बजार अनुगमन टोलीले चाडपर्व लक्षित विशेष बजार अनुगमन शुरु गरेको हो । टोलीले खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासू, तरकारी, फलफूल, मिठाईलगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गर्ने छन् ।

चाडपर्वको समयमा व्यापारीहरुले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले तिहार निजिकिएसँगै बजार अनुगमनलाई सक्रिय रुपमा अगाडि बढाएको हो । काभ्रेपलाञ्चोकको मुख्य बजार बनेपास्थित चारदोबाटो आसपासमा रहेका मिठाई तथा होटलहरुको सोमवार अनुगमन गर्दै टोलीले स्वास्थ्य मापदण्डको पालना गर्दै आवश्यक स्वास्थ्य सामग्रीको प्रयोग गरेर मात्रै पसल तथा होटल सञ्चालन गर्न निर्देशन दिएको छ ।

टोलीले अनुगमनका क्रममा मिठाई बनाउने ठाउँ फोहोर रहेको, बनाउँदा मजदूरले मास्क र फेस शिल्ड प्रयोग नगरेको, सफा ठाउँ र भाँडामा पकाउने नगरेको तथा राख्ने ठाउँ समेत सफा नभएको पाइएकाले त्यस्ता पसल तथा होटल सञ्चालकलाई तत्काल सुधार गर्न निर्देशन दिएको घरेलु तथा साना उद्योग काभ्रेपलाञ्चोकका प्रमुख केशवप्रसाद पुडासैनीले जानकारी दिनुभयो । उहाँका अनुसार अनुगमनका क्रममा प्रायजसो मिठाई पसल तथा क्याफेहरुको किचेन कोठा सफा नभएको पाइएको छ ।
“अनुगमन गरेको पसलहरु सबैजसोका बाहिर सेवाग्राही बस्ने ठाउँ ठीक रहेपनि भित्र पकाउने ठाउँमा धेरै सुधार गर्नुपर्ने देखिएको छ”, उहाँले भन्नुभयो, “त्यसका लागि सञ्चालकको ध्यानाकर्षण गराएका छौं ।” सो क्रममा उद्योग ब्यवसाय सञ्चालन गर्नेहरुले घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरेर सञ्चालन गर्नुपर्ने भएकाले सम्पूर्ण दर्ता, नबीकरणको कामलाई समेत ध्यान दिन सुझाव दिनुभएको छ ।

टोलीले बनेपा चारदोबाटो आसपासका कामधेनु स्वीट्स, काभ्रे स्वीट्स एण्ड चाट प्यालेस, दाहाल भिठाई भण्डार, बनेपा फास्ट फुड क्याफेलगायत आधा दर्जन होटलको अनुगमन गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology