• Sunday 2nd of August 2026

मालिकार्जुनमा लिफ्टबाट खानेपानी


  • गोकर्णेश्वर अनलाइन

दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ शङ्करपुरको कोटिला र गोरेकाडाका बस्तीमा लिफ्टमार्फत खानेपानी पु-याइएको छ । वर्षौदेखि घण्टौ हिँडेर कुवाको पानी खाइरहेका स्थानीयको लागि पहिलो पटक लिफ्टमार्फत गाउँमा खानेपानी पु-याइएको हो । “कुवाको पानी ल्याउन एकदेखि डेढ घण्टा टाढा हिँड्नुपर्ने बाध्यता थियो, यी दुबै बस्तीलाई । उच्च डाडोमा पानी ल्याउन पनि निकै कठिन थियो । स्थानीयले गाउँमा पानी आउला भनेर सोचका थिएनन्”, स्थानीय कल्यानसिंह धामीले भन्नुभयो, “वर्षौदेखि त्यही कुवाको पानी खायौं, छोरा नातीसम्म पनि यस्तै अवस्था रहन्छ कि भन्ने लागेको थियो, तर त्यस्तो अवस्था फेरियो ।”

आर्थिक वर्ष २०७६÷७७ मा सङ्घीय सरकारको विशेष समपुरक अनुदान र मालिकार्जुन गाउँपालिकाको सहयोगमा यी दुबै गाउँमा पहिलो पटक लिफ्टमार्फत खानेपानी पु-याएपछि पूरै गाउँले खुशी भएका छन् । “गाउँमा यसरी पानी आउँला भन्ने सोचेकै थिएनौं”, सुरेश धामीले भन्नुभयो, “अहिले एक करोड बजेटमार्फत दुवैबस्तीको लागि लिफ्टमार्फत खानेपानी पुगेको छ ।” कोटीला बस्तीमा खानेपानी पुगेपछि बिहीबार परीक्षण समेत गरिएको छ । झण्डै ५५० मिटर तलबाट सोलार लिफ्टमार्फत गाउँमा खानेपानी पुगेको छ ।

यसअघि यहाँका स्थानीयलाई एक गाग्री पानीकै लागि डेढ घण्टासम्म हिँडेर ल्याउनुपर्ने बाध्यता रहेको स्थानीय पुष्पा सामन्त बताउनुहुन्छ । “घरको एक जनाको काम पानी ल्याउनमै ठिक्क हुन्छ”, उहाँले भन्नुभयो, “गाईवस्तु र घरको लागि पानी ल्याउन दिनभरी समय बिताउनुपर्छ ।” गाउँमा लिफ्टमार्फत खानेपानी पुगेपछि अहिलेसम्म खानेपानीको लागि भोग्दै आएको सपना पूरा हुने भएको छ । अहिलेसम्म गरेको दुःख अहिले सरकारले पूरा गरिदिएको स्थानीय सामन्तले बताउनुभयो ।

कोटिलामा २२ घर परिवार तथा गोरेकाडामा २५ घरधुरीमा खानेपानीको धारा पु¥याइएको छ । गोरेकाडा खानेपानीको आज परीक्षण गरिँदै छ । “पहिलो चरणको लिफ्ट खानेपानी परीक्षण सफल भएको छ”, वडा अध्यक्ष प्रेम पन्तले भन्नुभयो, “असम्भव जस्तै मानिने ठाउँमा खानेपानी पुगेको छ ।” स्थानीयको वर्षौदेखि सुद्ध पानी खाने सपना पूरा भएको छ । दुबै बस्तीमा तिहार अगावै खानेपानी पुग्ने भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology