• Wednesday 29th of July 2026

नेटो प्रमुखद्वारा अफगानिस्तानबाट सैनिक हटाउँदा ठूलो नोक्सानी हुने चेतावनी


  • गोकर्णेश्वर अनलाइन

वासिङ्टन, ३ मंसिर (रासस–एएनआई) –– उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव जेन्स स्टोल्टेन्बर्गले अफगानिस्तानमा तैनाथ विदेशी सैनिकलाई हतार हतार स्वदेश फर्काइए त्यसबाट अफगानिस्तानको सेनाले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबाट अमेरिकी सैनिक ठूलो मात्रामा कटौती गर्ने घोषणाप्रति टिप्पणी गर्दै महासचिव स्टोल्टेन्बर्गले उक्त विचार अघि सानु भएको हो ।

उहाँले अफगानिस्तान अझै पनि अन्तर्राष्ट्रिय आतंकवादीको केन्द्रका रुपमा रहने सम्भावना रहेको बताउँदै यहाँबाट पश्चिमा मुलुकभित्र आक्रमणका योजना बन्न सक्ने भन्दै चिन्ता व्यक्त गर्नु भएको छ ।

महासचिव स्टोल्टेन्बर्गले सिरिया र इराकमा परास्त भएका आइसिसले अफगानिस्तानलाई आफ्नो केन्द्रका रुपमा उभ्याउन सक्ने खतरा रहेको बताउनुभयो ।

उहाँले एक वक्तव्य जारी गर्दै भन्नुभयो, “नेटो गठबन्धनले अफगानिस्तानको शान्ति प्रक्रियालाई मद्दत गरेको छ । यस प्रक्रियाको एक हिस्साका रुपमा हामीले ठूलै मात्रामा सैन्य उपस्थितिलाई अफगानिस्तानभित्र सीमित गरिसकेका छौं ।”

अफगानिस्तानमा तैनाथ सैनिकको संख्याका बारेमा निरन्तर समीक्षा भइरहेको छ भन्दै उहाँले भन्नुभयो, “अहिले अफगानिस्तानमा तैनाथ विदेशी सैनिकको संख्या १२ हजारभन्दा कम भइसकेको छ । त्यसमध्ये आधाभन्दा बढी गैर–अमेरिकी सैनिक छन् ।”

अफगानिस्तानबाट अमेरिकी सैनिकको संख्या निरन्तर कटौती गरिए पनि नेटोले अफगान सैनिकलाई तालिम, परामर्श र सहायताका कार्यलाई निरन्तरता दिने स्पष्ट गरिसकेको छ । उहाँले भन्नुभयो, “हामी अफगान सैनिकलाई आगामी सन् २०२४ सम्म मद्दत गर्नेछौं ।”

गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै आगामी क्रिसमस अघि नै चार हजार ५०० सैनिक फिर्ता गरिसक्नु बताउनु भएको थियो । तर वरिष्ट सैनिक तथा राष्ट्रिय सुरक्षा सल्लाहकारहरुले हतारमा सैनिक संख्या कटौती गर्न नहुने सुझाव दिएका थिए ।

यसैबीच, अफगानिस्तानको फर्याब प्रान्तमा भएको बम विस्फोटनमा करामकुल जिल्लाका प्रहरी प्रमुख सफर मोहम्मद बिदार समेत पाँच जना सुरक्षाकर्मी मृत्यु भएको छ ।

सडक किनारामा बिछ्याइएको बारुदी सुरुङ बुधबार बिस्फोट भएर ती सुरक्षाकर्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अफगानी मुख्य विद्रोही समूह तालिबान र अफगान सरकारबीच मध्यस्थता वार्ता जारी रहे पनि हिंसा–प्रतिहिंसाका घटनामा कुनै कमी आएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology