• Sunday 2nd of August 2026

मिथिलाञ्चलमा आजदेखि सामाचकेवा पर्व शुरु


  • गोकर्णेश्वर अनलाइन

मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक सामाचकेवा पर्व आजदेखि शुरु भएको छ । सो पर्व आज पञ्चमीदेखि शुरु भई दश दिनसम्म चल्ने छ । एघारौँ दिन पूर्णिमाका दिनमा राति सामाचकेवाको विसर्जन गरी पर्व समापन हुनेछ ।

दश दिनसम्म मिथिलाञ्चलका दिदीबहिनी, छोरीबुहारीलगायत महिलाले आआफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामाचकेवा खेल्छन् । आजको दिन बिहानै मिथिलाञ्चलका दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँका खेत तथा भीरमा गएर दाजुभाइको हातबाट माटो खनेर ल्याई गिलो पारी विभिन्न प्रकारका कलात्मक सामाचकेवा बनाएका छन् ।

बेलुकासम्म सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङ भरेर रङ्गीचङ्गी सामाचकेवा बनाइन्छ । रङ्गिसकेको सामाचकेवा राति रातो रङको बाँसको डालामा राखेर दियो बाली गाउँटोलका प्रत्येक चोक, चौराहा, दोबाटो, चौबाटो, विद्यालय, धर्मशाला, मन्दिर र छठघाटमा लगेर दश दिनसम्म गीत, नाच गर्दै चेलीबेटीले सामाचकेवा खेल्नेछन् ।

समूहगत रुपमा चेलीबेटी तथा छोरीबुहारी ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाई दिय, चम्पा फूल लगाइदिय”, “सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो” लगायत गीत गाएर सामाचकेवा खेलिन्छ । समूहमै सबैले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्छन् ।

दिदीबहिनीले एघाराँै दिनमा बिहानै सामाचकेवालाई पुनः बनाउने, रङरोगन गर्ने, दिनभरि सुकाएर बेलुका दहीचिउरा खुवाउने, दाजुभाइको फाँर भराउने तथा तिनैबाट फुटाउन लगाएर बाजागाजा, गीतनाचका साथ गाउँको वनमा जोतिएको खेतमा लगेर विसर्जन गर्छन् ।
मिथिलाञ्चलका हरेक दिदीबहिनीले निकै मन पराउने सामाचकेवा पर्व सबैले माइत गएर मनाउने इच्छा राख्छन् । सोहीअनुरुप यस पर्वमा टाढाटाढाबाट दिदीबहिनी सामाचकेवा खेल्नका लागि आआफ्ना माइत जाने गर्छन् ।

दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले टोलछिमेका दाजुभाइ तथा दिदीबहिनीसँग यो पर्व मनाउने गर्छन् । सामाचकेवा पर्व खेल्नाले दाजुभाइको आयु लामो हुने तथा दिदीबहिनीप्रतिको सम्बन्ध प्रगाढ हुने जनविश्वास छ । तराईका महोत्तरी, सर्लाही, सिरहा, धनुषा, सप्तरी, बारा, रौतहट र पर्सा तथा सीमावर्ती भारतीय जिल्लामा यो पर्व लोकप्रिय रहेको छ ।

मिथिलाञ्चलमा छठ पर्वको सध्याकालीन अघ्र्य दिनुभन्दा एक दिन पूर्व (आज) देखि सामाचकेवा पर्वको आगमन हुन्छ । छठको तयारीसँगै यस पर्वका लागि पनि दिदीबहिनीले सामग्री जोरजाम गर्छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology