• Wednesday 29th of July 2026

अमेरिकामा कोभिड–१९ सङ्क्रमित दुई लाख ५० हजारभन्दा बढी पुगे , न्यूयोर्कका विद्यालय बन्द


  • गोकर्णेश्वर अनलाइन

अमेरिकामा कोभिड–१९ सङ्क्रमित दुई लाख ५० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

कोभिड–१९ सङ्क्रमणमा पुनः वृद्धि देखिएकपछि अमेरिकी शहर न्यूयोर्कस्थित विद्यालयहरू बन्द गरी सङ्क्रमण नियन्त्रण गर्ने अन्य उपायसमेतलाई अवलम्वन गर्न थालिएको छ ।
यूरोपमा कोभिड–१९ को नियन्त्रणका लागि भन्दै विभिन्न उपायहरूलाई अवलम्बन गर्ने यूरोपेली मुलुकहरूको तयारीविरुद्ध ती मुलुकहरूमा बजार गतिविधि नियन्त्रणविरोधी विरोधहरू भएका छन् ।

अमेरिकामा बिहीबारसम्म कोभिड–१९ सङ्क्रमितमध्ये दुई लाख ५० हजार ४२६ व्यक्तिको मृत्यु भएको छ भने बुधबार एकै दिनमा एक लाख ५७ हजार ९५० जना थप व्यक्ति सङ्क्रमित भएका जोन हकिन्स विश्वविद्यालयले बताएको छ ।

अमेरिकी राज्यहरू र शहरले कोभिड सङ्क्रमण दरमा नियन्त्रण नआएपछि नियन्त्रणका पूराना तथा नयाँ उपायलाई अभ्यासमा ल्याउने बताएका छन् ।

न्यूयोर्कका नगरप्रमुख बिल डे ब्लासियोका अनुसार सहरमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेपछि शहरमा रहेका करिब एक हजार ८०० विद्यालयहरूलाई बन्द गरिएको छ । ती विद्यालयहरूले दूर शिक्षालाई बिहीबार देखि नै अभ्यासमा ल्याएका छन् ।

नगर प्रमुख ब्लासियोले भन्नुभयो, “हामीले कोभिड–१९ को दोस्रो लहरविरुद्ध लड्न जरुरी भएको छ ।”

अमेरिकी औषधि कम्पनी पिफाइजरले विकास गरेको खोपले ९४ प्रतिशत विरामीमा सकारात्मक नतिजा दिएको भन्ने खबरबाट आशावादी बनेका अमेरिकीहरूलाई अमेरिकाको सबैभन्दा बढी जनघनत्व रहेको न्यूयोर्क शहरमा नियन्त्रणका लागि विद्यालय बन्द गर्ने नीतिपछि थप सशङ्कित बनेका छन् ।

यूरोपमा अझै हुन सकेन सङ्क्रमण नियन्त्रण

यसैबीच महामारीका कारण यूरोप विश्वको सबैभन्दा बढी प्रभावित क्षेत्र बनेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वव्यापी रूपमा गत हप्ता मृत्यु भएका कोभिड–१९ सङ्क्रमितमध्ये यूरोपमा ४९ प्रतिशत रहेकोमा यो साता उक्त सङ्ख्या ४६ प्रतिशतमा झरेको भएपनि अझै यूरोप महामारीका कारण विश्वको बढी प्रभावित मुलुकका रूपमा रहेको छ ।

विश्वविद्यालयको तथ्याङ्क अनुसार सङ्क्रमण र मृत्युदर घटेका मुलुकहरूमा दक्षिणपूर्वी एशियाली राष्ट्रहरू देखिएका छन् ।

एएफपीले विश्वव्यापीरूपमा संकलन गरेको तथ्याङ्क अनुसार विश्वभर कोभिड–१९ का कारण १३ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने पाँच करोड ५० लाख व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमणका कारण बढी प्रभावित यूरोपका मुलुकहरूमध्ये एक स्वीट्जरल्याण्डमा व्यवहारिकरूपमा अस्पतालहरू पूर्णतया भरिएको भन्दै स्वीस सोसाइटी फर इन्टेन्सिभ केयर मेडिसिनले महामारीका कारण सघन उपचार कक्षको अभाव भएको जनाएको छ ।

स्वीट्जरल्याण्डमा अस्पतालहरूले अस्थायी शैयाहरू थपेका छन् भने सहयोगका लागि सेनालाई आग्रह गरिएको छ ।

यूरोपका अन्य प्रभावित मुलुक स्पेन, इटाली, फ्रान्स, जर्मनी र रूस लगायतका सरकारले नियन्त्रणका लागि थप कडा उपायको अवलम्बन गर्ने बताइरहँदा ठाउँठाउँमा विरोधको सामना गर्नुपरेको छ ।

हङ्गेरीले स्वास्थ्य सङ्कटकालको घोषणा गरेको छ भने आंशिक लकडाउन पनि गरेको छ र यसलाई आगामी फेब्रुअरीसम्म कायम राख्नसकिने बताएको छ ।

फ्रान्सका प्रभावित क्षेत्रहरूमा लकडाउनलाई थप बढाउने सरकारका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जर्मनीको बर्लिनमा नियन्त्रणका उपायको विरोध गर्दै हजारौँ नागरिक सडकमा उत्रन थालेपछि प्रहरीले प्रदर्शनकारीलाई तितरभितर पार्न मास्क नलगाई प्रदर्शनमा उत्रेका नागरिकमाथि बल प्रयोग गरेको छ भने विरोधीले सरकारविरुद्ध ‘शेम ! शेम !’ भन्दै नाराबाजी गरेका छन् ।

अफ्रिकाका पनि घनाबस्ती रहेका शहरहरू तथा गरिब मुलुकहरूमा सङ्क्रमण दर नियन्त्रणमा आउन सकेको छैन । सङ्क्रमणका कारण व्यवसायिक तथा कृषि गतिविधिहरू प्रभावित बन्दा पहिल्यै खाद्यान्न अभाब झैल्दै आएका अफ्रिकी मुलुकहरूमा समस्या थप जटिल बनेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology