• Sunday 2nd of August 2026

अमेरिकी सपना त्यागेर पशुपालनमा तनमन


  • गोकर्णेश्वर अनलाइन

सँगैका दौँतरी जापान, अमेरिका र युरोपमा छन् । उहाँलाई पनि अमेरिकाको भूत नचढेको होइन । सरकारी जागिरे बाबु । धन साथमा नभए पनि ऋण सबैले पत्याउँथे ।

बागलुङ नगरपालिका–३ का गणेश शर्मालाई पनि अमेरिकाको भूत चढ्यो र लाग्नुभयो अमेरिकाको यात्रामा तर दलालमार्फत अमेरिका हिँड्नुभएका उहाँ नत अमेरिका पुग्नुभयो नत ऋणधन गरेको पैसानै जोगियो । एक महिना लामो परिवारको सम्पर्क बाहिर बसेर रु २० लाख सक्नुभयो तर अमेरिका पुग्नुभएन ।

एक वर्षको राजाधानी बसाइलाई टुङ्गो लगाएर गाउँ फर्केका गणेशले अहिले भाडाको जग्गामा भविष्य खोज्दै हुनुहुन्छ । बागलुङ नगरपालिका–३ हाडेपाखामा उहाँका बाबु शिवप्रसाद शर्माले गर्दै आएको परम्परागत पशुपालन व्यवसाय थियो । व्यापारका लागि होइन घरमा दूधघ्युको खाँचो टार्न बाबुले पालेका गाईभैँसीको सङ्ख्या गणेशले बढाउनुभएको छ ।

अमेरिकाको सपना चकनाचुर भएपछि आफ्नै माटोमा सुन्दर भविष्य खोज्न थाल्नुभएका गणेशको कामका लागि परिवारको राम्रो साथ छ । हाडेपाखामा सात वटा भैँसी र तीन वटा दुधालु गाई भएको फार्म छ । ‘शिव शक्ति गाईभैँसी फार्म’ नाम दिइएको उनको फार्ममा बाबु शिवप्रसाद शर्मा, उहाँ आफैँ, आमा गीता र श्रीमती उषा उत्तिकै खट्नुहुन्छ । विदेश जाने धुनमा लागेको जत्तिको लगानी पनि उहाँलाई फार्मका लागि लगाउनुपरेको छैन । रु १५ लाख लगानीमा शुरु भएको उहाँको फार्मले अहिले दिनमा रु छदेखि सात हजार कमाउँछ । “लिमे जातको स्थानीय भैँसी र मुर्रा भैँसीको क्रस पालेका छौँ”, गणेश भन्नुहुन्छ, “उन्नत जातका गाई पनि सँगै छन्, राम्रो आम्दानी हुँदोरहेछ ।”

आफ्ना बाबुले पहिलेदेखि गर्दै आएको व्यवसाय सम्हाल्न सकेको भए आफू विदेशको लहडमा लाग्नु नपर्ने उहाँले बल्ल बुझेको बताउनुभयो । “बाबाले विसं २०६७ बाट नै भैँसी पाल्न थाल्नुभएको थियो, मेरो मन अमेरिकामा थियो, बाटोमा दुःख पाएपछि बल्ल चेत आयो”, शर्माले भन्नुभयो, “कृषि विकास बैंकको जागिरे जीवन सकेर भैँसी पाल्नुभएका बाबालाई सघाएको भए धेरै माथि पुगिन्थ्यो ।”

उहाँको फार्ममा अहिले दैनिक ६० देखि ७० लिटर दूध उत्पादन हुन्छ । बागलुङ बजारको छेवैमा रहेकाले दूधको लागि बजारको समस्या छैन । “साँझ–बिहान भाँडा बोकेर ग्राहक गोठमा नै आउँछन्”, उहाँले भन्नुभयो, “शुद्ध दूध खोज्ने धेरै छन् ।” मानाको मापनमा बिक्री हुने दूध प्रतिमाना रु ६० बिक्री हुने गरेको छ । गणेशले गाईभैँसीको पालनलाई थप व्यावसायिक र उत्पादनमुखी बनाउने योजना सुनाउनुभयो । “पच्चीस वटा भैँसी पुर्याउने लक्ष्य छ, रु २० लाख थप लगानी गर्ने हो”, उहाँले भन्नुभयो, “लगानीमा यसो सघाउने निकाय पाए सहज हुन्थ्यो ।”

हाडेपाखामा वार्षिक रु ५० हजार भाडामा लिइएको चार रोपनी जग्गामा उहाँको फार्म छ । गोठ बनाएर बाँकी रहेको जग्गामा परिवारले तरकारी खेतीसमेत गर्दै आएको छ । “दूधको मात्रै आम्दानी हेरेर बसेर पुग्दैन, तरकारी फलाएर मुनाफा लिनुपर्ने छ”, उहाँले भन्नुभयो । घाँसका लागि पुख्र्यौली पाखो र केही जग्गा भाडामा लिइएको छ । बर्खामा घाँस काट्नका लागि ज्यालादारीका मजदुरलाई लगाउँछन् । हिउँदमा भने लाखौँ खर्चेर परालको जोहो गर्ने गरेको उहाँले सुनाउनुभयो ।

“अब परिवारमा मात्रै होइन थप रोजगारी सिर्जना हुने गरी फार्म विस्तार गर्दैछु”, उहाँले भन्नुभयो, “उत्पादन बढेपछि मुनाफा बढ्नेमा ढुक्क छु ।” विदेशको लहडमा लागेको ऋणसमेत दूध बेचेर चुक्ता गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology