• Sunday 2nd of August 2026

काँगेलडाँडा विमानस्थलमा रेखाङ्कन थालनी


  • गोकर्णेश्वर अनलाइन

कागेलडाँडा विमानस्थलमा पुनः उडानपूर्व प्राविधिकसहितको टोलीले निरीक्षण गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनीयर, प्रदेशसभा सदस्य उत्तमकुमार बस्नेत तथा थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असिम राईसहितको टोलीले बुधबार अवलोकन गरेको हो ।

पाँच वर्षदेखि पूर्णरूपमा बन्द रहेको विमानस्थलको निरीक्षणपछि रेखाङ्कनको काम शुरुआत भएको प्रदेशसभा सदस्य बस्नेतले जानकारी दिनुभयो । विसं २०५२ मा निर्माण शुरु भएको विमानस्थलमा २०६२÷६३ देखि उडान सेवा शुरु भएको थियो । विसं २०७२ सम्म नेपाल एयरलाइन्स र तारा एयरलाइन्सले पनि उडान भरेका थिए । यसपछि उडान सेवा पूर्णरूपमा बन्द भएको थियो ।
विमानस्थललाई सञ्चालनका लागि सांसद हेमकुमार राई, प्रदेश सभासद् बस्नेत, नेकपा प्रदेश नं १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी तथा थुलुङ दूधकोशीका अध्यक्ष राईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बारम्बार ध्यानकर्षण गराउने काम गरेका थिए ।

पर्यटनमन्त्री योगेशकुमार भट्टराईले गत कात्तिक २१ गते विमानस्थलको स्थलगत निरीक्षण गर्दै मङ्सिर दोस्रो साता उडान सेवा शुरु गर्ने गरी तयारी अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । नेपाल एयरलाइन्सको विमानले उडान भर्ने सहमति भएपछि प्राधिकरणका इञ्जिनीयरको टोलीले विमानस्थलको स्थलगत निरीक्षण गरेको थुलुङ दूधकोशीका अध्यक्ष राईले बताउनुभयो ।

निगमको विमानले उडान भर्ने गरी प्राधिकरणसँग सम्झौतासमेत भएको छ । विमानस्थलमा उडान सेवा सञ्चालन गराउन पहल गर्नुपर्ने भन्दै स्थानीयवासीले बारम्बार माग गर्दै आएका थिए । हाल जिल्लामा रहेका चार विमानस्थलमध्ये तेञ्जिङ हिलारी विमानस्थल लुक्ला र फाप्लु विमानस्थल सञ्चालनमा छ भने स्याङ्बोचे विमानस्थलमा हेलिकोप्टरले कहिलेकाहीँ उडान भर्दै आएको छ । गाउँको बीचमा रहेको काँगेलडाँडामा भने पाँचदेखि उडान भएको छैन ।सबैभन्दा बढी विमानस्थल भएको जिल्लाको सूचीमा रहेको सोलुमा अहिले महाकुलुङ गाउँपालिकाको गुदेलमा पुनः अर्को विमानस्थल निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन काम भइरहेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology