• Sunday 2nd of August 2026

बिक्नै छाड्यो ढुवानी अनुदानको चामल


  • गोकर्णेश्वर अनलाइन

धार्चे गाउँपालिकाको माछाखोला डिपोबाट ढुवानी अनुदानमा उपलब्ध गराइँदै आएको सहुलियत दरको चामल बिक्री हुन छाडेको छ । खाद्य अभाव भोग्दै आएका धार्चे र चुमनुब्री गाउँपालिकाका विभिन्न क्षेत्रका नागरिकलाई लक्ष्य गरी ढुवानी अनुदानको चामल उपलब्ध गराइँदै आएको धार्चे डिपोबाट पछिल्लो दुई वर्षदेखि न्यून मात्र चामल बिक्री हुने गरेको छ ।

पछिल्लो समय गुम्दासम्म सडक पुगेपछि व्यापारीले नै बिक्रीका लागि स्थानीय बजारमा चामल पु¥याउन थालेपछि ढुवानी अनुदानको चामल बिक्री हुन छाडेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाका प्रमुख नवीन बस्नेतले जानकारी दिनुभयो । एउटै गुणस्तरको बजारको चामल मूल्यभन्दा खाद्य कम्पनीले ढुवानी अनुदान उपलब्ध गराउँदै आएको चामलको मूल्य महँगो परेकाले पनि त्यस क्षेत्रका नागरिकले ढुवानी अनुदानको किन्न छाडेका हुन् । “सोना मनसुली चामल अहिले बजारमा प्रतिबोरा एक हजार २६० रुपैयाँमा पाइन्छ”, कार्यालय प्रमुख बस्नेतले भन्नुभयो, “त्यही चामल खाद्य कम्पनीको माछाखोला डिपोमा प्रतिबोरा एक हजार ४४० रुपैयाँ तिर्नुपर्ने भएपछि डिपोबाट बिक्री ह्वात्तै घटेको छ ।”

अहिले व्यापारीले नागरिकका घरघरमा चामल पु-याउँछन् । प्रमुख बस्नेतले भन्नुभयो, “ ढुवानी अनुदानको चामलभन्दा सहुलियत मूल्यमा चामल महँगो पर्ने भएपछि खाद्य कम्पनीको चामल बिक्री कम हुनु स्वाभाविक नै हो ।” बर्खाका बेला सवारी साधन चल्न नसक्ने अवस्थामा भने बजारको चामलभन्दा ढुवानी अनुदानको चामल अति सस्तो पर्ने भएकाले बर्खामा थोरै बिक्री हुने उहाँको भनाइ छ । यसअघि वर्षमा दुई हजार पाँच सय क्विन्टल चालम बिक्री गर्दै आएको माछाखोला डिपोबाट चालु आर्थिक वर्षमा बल्लतल्ल ८०० क्विन्टल चामल बिक्री गरिएको प्रमुख बस्नेतले जानकारी दिनुभयो ।

ढुवानी अनुदानको चामल बिक्री हुन छाडेपछि यस वर्षका लागि माछाखोला डिपोको कोटा घटाएर ५०० क्विन्टलमा झारिएको छ । “चालू आर्थिक वर्ष शुरुदेखि अहिलेसम्म एक क्विन्टल पनि चामल बिक्री भएको छैन, अहिले बिक्री नै नहुने भएकाले त्यहाँ स्टक पनि साढे एक क्विन्टल मात्र राखिएको छ”, प्रमुख बस्नेतले भन्नुभयो, “आवश्यकता परेका अवस्थामा जति बेला पनि चामल पु-याउन सकिने अवस्था भने छ ।” माछाखोला डिपोबाट उत्तरी गोरखाका गुम्दा, उहिया, केरौजा, कोशीगाउँलगायत क्षेत्रका नागरिकले चामल लैजाने गरेका थिए ।

माछाखोला डिपोबाट कम्पनीले प्रतिकिलो सोना मनसुली र जापानी चामल रु ४८ मा बिक्री गर्ने गरेको छ । कम्पनीले उत्तरी गोरखाका धार्चे र चुमनुब्री गाउँपालिकाका नागरिकलाई लक्ष्य गरी माछाखोला र चुमनुब्री गाउँपालिकाको सिर्दिबासमा डिपो राखेर ढुवानी अनुदानमा चामल बिक्री गर्दै आएको छ । अहिले पनि सिर्दिबास डिपोबाट वार्षिक चार हजार सात सय क्विन्टलसम्म चामल बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । कम्पनीको सिर्दिबास डिपोमा सोना मनसुली चामल प्रतिकिलो रु ५० र जिरामसिनो चामल प्रतिकिलो रु ६२ मा बिक्री हुँदै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology