• Sunday 2nd of August 2026

आयुर्वेद अनुसन्धान केन्द्रमा रोपियो गुर्जोका ५०० बिरुवा


  • गोकर्णेश्वर अनलाइन

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र कीर्तिपुरमा औषधीय गुणले युक्त गुर्जोका ५०० बिरुवा रोपिएका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गुर्जोजस्ता औषधि गुणले युक्त वनस्पतिको प्रवद्र्धन गरिनुपर्ने, यसबाट औषधि बनाएर विदेशमा समेत निर्यात गर्न सकिने भएकाले कार्यक्रमलाई अन्यत्र पनि बिस्तार गर्न सकिने उहाँको भनाइ थियो ।

संस्कृतमा अमृता अर्थात् अमृतका रुपमा व्याख्या गरिएको गुर्जोको नेपालका पहाडी भेगमा समेत प्रशस्त पाइने भए पनि पछिल्लो समय औषधिका रुपमा उपयोग हुनेक्रम घटेको थियो । गत वर्ष चैतमा कोरोना महामारी फैलिएपछि भने गुर्जोलाई नयाँपुस्ताले समेत औषधिका रुपमा चिनेका छन् ।

सो अवसरमा १५७ किलो गुर्जाेको काँचो टुक्रा डाँठ केन्द्रका कार्यकारी निर्देशक डा. रामआधार यादवलाई प्रदान गरिएको थियो । कार्यक्रममा यादवले गुर्जोबाट बनेको चिया गर्भवती महिला र पाँच वर्ष मुनिका बालबालिका बाहेक अरुले सेवन गर्न हुने बताउनुभयो । गुर्जो रोपण कार्यक्रममा कीर्तिपूर नगरपालिकाका प्रमुख रमेश महर्जन लगायत स्थानीयवासी पनि सहभागी हुनुभएको थियो । नगर प्रमुख महर्जनमार्फत कीर्तिपुरवासीलाई दुई हजार गुर्जोका बिरुवा हस्तान्तरण गरिएको छ ।

केन्द्र परिसरमा रोपिएका करिब ५०० बिरुवा देशव्यापीरुपमा गुर्जो वितरण अभियानमा लाग्नुभएका अभियानकर्मी एवं आन्तरिक राजश्व कार्यालय धुलिखेलमा प्रमुख कर अधिकृतका रुपमा कार्यरत कमलबहादुर राजलवटले उपलब्ध गराउनुभएको हो ।

राजलवटले यसअघि आन्तरिक राजश्वको लहान कार्यालय प्रमुख रहनुहुँदा त्यहाँको सरकारी आवास क्षेत्रमा लगाउनुभएका बिरुवा देशव्यापीरुपमा वितरण गर्नुभएको थियो । हालसम्म देशभर एक लाख ४० हजारभन्दा बढी बिरुवा वितरण गरिएको उहाँले सुनाउनुभयो ।

यसैगरी नयाँबानेश्वरस्थित सचेतनामार्गमा पनि ३०० गुर्जोका बिरुवा वितरण गरिएको छ । पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले त्यस क्षेत्रमा गुर्जोका बिरुवा स्थानीयवासीलाई हस्तान्तरण गर्नुभएको हो ।

कीर्तिपुर र नयाँबानेश्वरमा समेत भएको कार्यक्रममा उपस्थितलाई गुर्जोको धुलो र चियासमेत वितरण गरिएको अभियानकर्मी राजलवटले जानकारी दिनुभयो । आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो : तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा व्यक्ति जन्मन्छन् तिनलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ ।

नेपालमा धेरै वनस्पति पाइने भए पनि पछिल्लो समय मानिसले बिर्संदै गएकाले चेतना जगाउने कामका रुपमा पनि गुर्जो वितरण अभियानलाई अघि बढाइएको जीवन विज्ञानका प्रशिक्षक रामप्रसाद पन्थीले बताउनुभयो । अभियानकर्मी राजलवटलाई प्रशिक्षक पन्थीका साथै राष्ट्रिय योजना आयोगका सहसचिव एवं योग प्रशिक्षक किशोर जोशीले समेत साथ दिँदै आउनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology