• Saturday 1st of August 2026

गोरखादेखि काठमाडौँसम्म सेनाको पदयात्रा


  • गोकर्णेश्वर अनलाइन

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले गोरखाबाट काठमाडाँैसम्म एकीकरण पदयात्रा गर्ने भएको छ ।

नेपाल एकीकरणको उद्गमस्थल गोरखादेखि पृथ्वीनारायण शाहले गोरखा राज्य एकीकरण गर्दा प्रयोग गरेका मार्ग समेटेर पुस २१ गतेदेखि पदयात्रा गर्न लागेको नेपाली सेनाको रणसिंह दल गण गोरखाका गणपति प्रमुख सेनानी उज्ज्वल केसीले जानकारी दिनुभयो ।

“गोरखा नगरपालिकाको हनुमान चौताबाट तत्कालीन राजा पृथ्वीनारायण शाह जन्मनुभएको गोरखा दरबार हुँदै पदयात्रा शुरु हुन्छ”, उहाँले भन्नुभयो, “गोरखा दरबारबाट निस्किएर सेनाको टुकडी बोर्लाङघाटमा पुगेर धादिङस्थित सेनाको देवीदत्त गणलाई झण्डा र टर्च हस्तान्तरण गर्छौं ।” तत्कालीन राजा पृथ्वीनारायण शाहकालीन पोसाकमा सेनाको टोली पदयात्रामा निस्कने उहाँको भनाइ छ ।

नेपाल एकीकरण तत्कालीन अभियानलाई दृष्टिगत गरी शुरु गर्न लागिएको पदयात्रा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको दिन काठमाडौँ पुग्ने कार्यक्रम तय भएको गणपति केसीले जानकारी दिनुभयो । भीमसेन थापा गाउँपालिका–८ स्थित बोर्लाङघाटमा स्थानीयवासीले सेनाको स्वागतका लागि झाँकी कार्यक्रम गर्ने तयारी भइरहेको छ ।

पदयात्रामा तत्कालीन राजा पृथ्वीनारायण शाहका पालामा स्थापना भएका नेपाली सेनाको श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज गणको झण्डा र टर्च लाइट लिएर हिँड्ने गणपति केसीले जानकारी दिनुभयो । गोरखाबाट पदयात्रामा निस्किएको टोलीले धादिङको सिमानासम्म पुगेपछि धादिङस्थित सेनाको गणलाई झण्डा र टर्च गर्नेछ भने धादिङबाट नुवाकोटको सिमानासम्म धादिङस्थित सेनाको गणले झण्डा र टर्च पु-याउनेछ ।

त्यस्तै नुवाकोटमा रहेको सेनाको गणले झण्डा र टर्च काठमाडौँस्थित सेनालाई बुझाउनेछ । पदयात्रा २७ गते पृथ्वी जयन्तीका अवसरमा काठमाडौँ पुग्ने उहाँले बताउनुभयो । गोरखा दरबारबाट ४० जनाको टोलीले पदयात्रा गर्ने गणपति केसीले जानकारी दिनुभयो । यसअघि गएको वर्ष पनि नेपाली सेनाले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसर पारेर नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले यात्रा गरेको पदमार्ग समेटेर पदयात्रा गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology