• Saturday 1st of August 2026

बेपत्ता भएको तेह्र वर्षपछि घर फर्किंदा परिवारमा खुशीयाली


  • गोकर्णेश्वर अनलाइन

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भिमटावरका पुन्टे माझीकी आमा पार्वती उहाँ १३ वर्षको हुँदा घरबाट बेपत्ता हुनुभयो । बेपत्ता भएको १३ वर्ष वितिसक्दा पनि आमा घर नफर्किएपछि परिवारले आश मारिसकेको थियो । श्रीमान् र तीन छोरा छाडेर हिँड्नु भएकी पार्वतीलाई काठमाडौँको तार्केश्वरमा रहेको नवजीवन परोपरोकार समाजले पुनर्मिलन गराइदिएको छ ।

“आमाको सम्झना आइरहे पनि फर्केर आउनुहुन्छ भन्ने लागेको थिएन”, उहाँले भन्नुभयो, “आज आमा आउँदा सपना जस्तो लागेको छ, निकै खुशी भएका छौँ ।” छोराहरु अहिले जवान भइसकेका छन् । आमाले छाडेर हिँडदा जेठा छोरा पुन्टे १३, माइला सन्तोष १२ र कान्छा सेतुराम १० वर्षको हुनुहुन्थ्यो । अहिले जेठा छोराले विवाह गरिसक्नुभएको छ ।

उहाँकी छ वर्षीया छोरी छिन् । नाबालक अवस्थामा रहेका छोराहरु छाडेर हिँडेकी पार्वती घर जान पाउँदा निकै खुशी देखिनुहुन्थ्यो । तेह्र वर्षसम्म सडक, चौपारी, पाटीपैवामा कष्टपूर्ण जीवन बिताउनुभएकी पार्वती अन्तत परिवारको सहारामा पुग्नुभयो । श्रीमान् पूर्णबहादुर माझी श्रीमती घर आउँदा औधी खुशी हुनुहुन्छ । पार्वतीको आगमनले परिवारका सबै सदस्यका आँखाबाट आशु बगिरहेका थिए । “अब आमाको विशेष रेखदेख गरी पालनपोषण गर्छौं” बुहारी अल्काले भन्नुभयो, “आमा आउँदा घरै उज्यालो भएको छ ।”

धादिङ सदरमुकाममा होटल व्यवसाय गर्ने उषा श्रेष्ठले सडकमा फालेको फोहर टिपेर खाँदै गरेको देखेपछि केही दिन आफैसँग राखेर पार्वतीको पालनपोषण गर्नुभयो । पछि उहाँले नवजीवनको जिम्मा लगाइदिनुभयो । संस्थाले उहाँलाई धादिङबाट काठमाडौँ ल्याई आश्रममा राख्यो । “उहाँ (पार्वती) ले आफ्नो ठेगाना बताएपछि हामी उहाँको परिवार पत्ता लगाउने क्रममा लाग्यौँ”, समाजका अध्यक्ष दुर्गानाथ दाहालले भन्नुभयो, “पहिले उहाँलाई नलिकनै परिवार भेट्न गयौँ, परिवारको पहिचान भएपछि मात्रै उहाँलाई लिएर सँगै गयौँ ।”

पार्वती भेटिएको खबरले गाउँले पनि खुशी भएका छन् । ल्याउने खबर सुनेपछि गाउँलेहरु उहाँलाई हेर्न घरमा भरिभराउ थिए । पुरानो घर भूकम्पबाट भत्किएर नयाँ घर निर्माण भएकाले शुरुमा त उहाँलाई चिन्न गाह्रो भयो । पार्वतीको उद्वार गरी घर ल्याउने क्रममा सहयोग गर्ने धादिङका होटल व्यवसायी श्रेष्ठ र काठमाडौँमा बेवारिसे तथा अन्य हिसाबले दुःख पाएकालाई उद्वार गरी आफ्नै आश्रममै लगेर पालनपोषण गर्ने काममा लाग्नुभएका दाहाललाई परिवारले धन्यवाद दियो । वडा सदस्य तारा माझीले पार्वतीको स्वास्थ्य अवस्था बिग्रिएको र मानसिक समस्यासमेत रहेकाले औषधि उपचारका लागि वडाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology